काेराेनाबारे अध्ययन गर्न डब्ल्यूएचओकाे टिम आउँदाे बिहीबार वुहान जाने

 पुस २७, २०७७ सोमबार १४:५८:५३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरसबारे अध्ययन गर्न विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को टोली आउँदो बिहीबार चीन जाने भएको छ । डब्ल्यूएचओको टोली आउँदो बिहीबार अर्थात् जनवरी १४ तारिखमा कोरोनाको उद्गमस्थल चीनको वुहान जाने चिनियाँ सञ्चारमाध्यमलाई उदृत गर्दै अलजजिराले जनाएको छ ।

डब्ल्यूएचओकाे टोलीले कोरोना भाइरससँग सम्बन्धित तथ्याङ्क सङ्कलन गर्ने जनाइएकाे छ । यद्यपि चीनको राष्ट्रिय स्वास्थ्य विभागले यसबारे थप कुनै जानकारी सार्वजनिक गरेको छैन ।

विभागले अध्ययनका लागि डब्ल्यूचओको टोली वुहान जानेबारे छलफल भइरहेको मात्रै जनाएको छ । कोरोना भाइरसको अध्ययनका लागि डब्ल्यूएचओले आफ्नो टिम वुहान पठाउन लामो समयदेखि चीनसँग छलफल गरिरहेको छ ।

यसअघि गएको हप्ता कोरोना भाइरसबारे अध्ययनका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले तयार पारेको टिमलाई चीनले प्रवेशमा रोक लगाएको थियो । वुहानमा जनवरी महिनाको सुरुवातमा नै टिम पठाउने तयारी गरे पनि चीनले अनुमति नदिँदा ढिलाइ भइरहेको डब्ल्यूएचओका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयसले बताएका छन् । 

सन् २०१९ को अन्त्यमा पहिलो पटक वुहानमा देखिएको कोरोना भाइरसको सङ्क्रमण अहिले विश्वभर फैलिएको छ ।   

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया