थारु समुदायमा माघी पर्वको रौनक, कोरोनाका कारण नाचगान भएन

 माघ १, २०७७ बिहीबार ७:२९:५६ | भावुक योगी
unn.prixa.net

 बर्दिया -आज माघे सङ्क्रान्ति । पश्चिम नेपालको लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पर्ने दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेतमा बसोबास गर्ने थारु समुदायमा माघी पर्वको रौनक छ । थारु समुदायले माघीलाई विशेष पर्वका रुपमा मनाउने गर्छन् । 

“माघ लहाइली, सुरीक सिकार खाइली रे हाँ, सखिया हो, माघक पिली, गुरी गुरी जाँड”  यस्तै खालका माघी पर्व विशेष मघौटा, हुरदंगवा, सखिया, गीत गाउँदै नाचगान गर्दै माघे सङ्क्रान्तिको अघिल्लो दिन जिता मार्ने, मिठा परिकार खाने र माघी नुहाउने चलन छ ।

आजको दिनलाई थारु समुदायले नयाँ वर्षको रुपमा विशेष महत्त्वकासाथ पनि मनाउने गर्छन् । तर यो वर्ष कोरोना महामारी कारण मेला महोत्सव गर्न दिइएको छैन । त्यसैले गर्दा पनि बर्दियाको ठाकुरद्वारासहित विभिन्न ठाउँमा लाग्ने परम्परागत माघी मेला पनि यस वर्ष प्रभावित भएको छ । 

पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेतसँगै नजिकैको छिमेकी देश भारतबाट समेत ठाकुरद्वारा मन्दिरको दर्शन गर्न र मेला भर्न हजाराैँ भक्तजन आउने गर्छन् ।

 थारु समुदायमा मनाइने माघी पर्वमा पुस मसान्तको अघिल्लो दिन नजिकैको खोला र नदीमा माछा मार्ने, मसान्तीका दिन जिता (सुंगुरबंगुर) काट्ने, नयाँ धान कुटाएर राखिएको चामलको पिठोबाट बनाइने ढिक्रीलगायतका परिकार बनाएर नाचगान गर्दै मिलेर खाने चलन हुन्छ ।

माघे सङ्क्रान्तिका बिहानै खोला वा नदीमा माघी नुहाउने र नजिकैको मन्दिरमा पूजा गर्न जाने चलन छ । 

माघी पर्वसँगै थारु जातीमा खेतबारी अधियाबटैँया लगाउने, गाउँको बडघर, चौकीदार, गुरुवा, ल्वाहार राख्न खुजनी बुजनी (पक्कापक्की) गर्ने परम्परागत चलन पनि कायमै छ ।

माघी पर्वकै अवसरमा ठाकुरद्वाराको परम्परागत माघी मेलामा दैलेख, कालीकोट, मुगु, जुम्लालगायतका पहाडी जिल्लाबाट बसाइँ सरेर बर्दियामा बसोबास गर्ने महिला पुरुषले पहाडी क्षेत्रको मेलामा गाइने देउडा गीत गाएर माघी मेलालाई रमाइलो बनाउने गर्थे । तर कोरोनाका कारण यस वर्ष त्यस्तो रमाइलो नभएको ठाकुरद्वारा मन्दिर तथा विकास समितिका उपाध्यक्ष डिलराज पौडेलले बताउनुभयो । 

पहिले माघी आउनु केही दिन अघिदेखि नै गाउँघरमा मादल बजाएर मघौटा र सखिया नाच गरिन्थ्यो । पहिले पुर्खाले कला संस्कृति देखाएर माघी मनाउने गर्थे । यस्तो संस्कृति हिजोआज हराउँदै गएको त थियो नै, यसवर्ष कोरोना महामारीका कारण माघी पर्वको अवसरमा हुने नाचगान, मेला, महोत्सव पनि प्रभावित भएको बारबर्दिया नगरपालिका १ जोधीपुर दाङपुरका रजन्तु थारुले बताउनुभयो ।

‘माघी पर्वकै अवसरमा ठाकुरद्वारा मन्दिर परिसरमा हरेक वर्ष परम्परागत माघी मेला लाग्थ्यो । यस वर्ष ठाकुरद्वारा मन्दिर दर्शन गर्न खुल्ला गरिए पनि परम्परागत माघी मेला लाग्न पाएन, स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर थारु समुदायमा माघी पर्व मनाउँदैछौँ’ बारबर्दिया नगरपालिका १ जोधीपुर दाङपुरका बाबुराम थारुले भन्नुभयो । 

थारु समुदायले माघी पर्वमा मनोरञ्जन गर्ने र गाउँ समाज सञ्चालनका लागि नयाँ नेतृत्व चयन गर्ने गर्छन् । मघौटा, हुरदंगवा, सखियालगायतका गीतमा नाचगान गर्दै एक हप्तासम्म माघी पर्व मनाउने गरिन्छ ।
 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया