चीनबाट रेन्बो ट्राउट माछाको ६० हजार अण्डा आयात

 माघ ३, २०७७ शनिबार १५:४९:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – चीनको गान्सु प्रान्तबाट डोनाल्डसन् स्ट्रेनको सुइकी–१ जातको माछाको ६० हजार वटा आँखा उम्रिएको अण्डा आयात गरिएको छ । गान्सु फिसरी रिसर्च इन्स्टिच्युट र चाइना नेपाल कोअप्रेसन प्रोजेक्टको अनुदान सहयोगमा अण्डा आयात गरिएको हो ।

रसवाको सदरमुकाम धुन्चेमा रहेकाे मत्स्य अनुसन्धान केन्द्रमा नयाँ जातको भुरा उत्पादन गरेर किसानसामु सहुलियत दरमा बिक्री गर्ने उद्देश्यले अण्डा आयात गरिएको केन्द्रका प्रमुख महेन्द्र भण्डारीले बताउनुभयो । 

‘हामीले चीनबाट यो दोस्रो पटक अण्डा आयात गरेका हौं’, उहाँले भन्नुभयो, ‘यसअघि ल्याइएका अण्डाबाट भुरा उत्पादन गरेर किसानलाई बिक्री गरेका थियौं ।’ 

हवाइमार्गबाट अण्डा ल्याउने तयारी गरिए पनि बेइजिङमा केही व्यक्तिमा कोरोना संक्रमण देखिएपछि स्थलमार्गबाट ल्याइएको केन्द्रले जनाएको छ । अण्डा ल्याउनुअघि अण्डाको पीसीआर समेत गरिएको थियो । यसअघि पनि चीनबाट ३० हजार वटा आँखा उम्रिएको अण्डा आयात भएको थियो । जसबाट १६ हजार भुरा किसानलाई बिक्री गरेको थियो । केन्द्रका अनुसार अब ५० हजार आँखा उम्रिएको अण्डा आयात हुने क्रममा छ ।

केन्द्रमा यसवर्ष प्रजनन् भएका करिब २ हजार ५ सय जापानिज भुरा, ५ सय वटा जापानिज माउ माछा र ३ सय ५० वटा चिनीयाँ माउमाछा प्रजनन्का लागि पालिएको छ । चालु आर्थिक वर्ष २०७७/७८ को साउनदेखि हालसम्म ५० हजार वटा आँखा उम्रिएको अण्डा किसानलाई बिक्री गरिसकिएको केन्द्र प्रमुख महेन्द्र भण्डारीले बताउनुभयो । 

‘हामीले यो अवधिमा करिब ५० हजार वटा आँखा उम्रिएको अण्डा बिक्री गरिसकेका छौं,’ उहाँले भन्नुभयो, ‘चैतसम्म अण्डा उत्पादन हुने भएकाले बिक्री बढ्दै जाने छ ।

केन्द्रले यसपटक रसुवा सहित गुल्मी, दार्चुला, दोलखा लगायतका जिल्लामा अण्डा पठाएको छ । रसुवासहित १६ जिल्लालाई आँखा बनेको अण्डा, माछा भुरा र खाने माछा बिक्री गर्दै आएको छ । 

उत्पादन भएका अण्डा, भुरा तथा माउ माछा सबैभन्दा बढी रसुवा र नुवाकोटमा खपत हुने गरेको छ । लमजुङ, मकवानपुर, काठमाडौं, सिन्धुपाल्चोक, कास्की, पर्वत, गुल्मी, खोटाङ, धादिङ, ललितपुर, ताप्लेजुङ, मुगु, सोलुखुम्बु, रुकुम पश्चिममा समेत पठाउने गरिएको केन्द्रले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया