नेपालकै दोस्रो लामो पक्की पुल : प्रचण्डद्वारा शिलान्यास, ओलीले उद्घाटन गर्ने

 माघ ५, २०७७ सोमबार १४:३६:३ | हेमराज शर्मा
unn.prixa.net

दाङ – लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङकाे देउखुरीको राप्ती नदीमा बनेको पक्की पुलको उद्घाटन माघ १२ गते हुने भएको छ । राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने नेपालकै दोस्रो लामो पक्की पुलको उद्घाटन माघ १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले जानकारी दिनुभयो ।

झण्डै एक वर्षअघि निर्माण सम्पन्न भएको पुलको उद्घाटन प्रधानमन्त्री ओलीले गर्नुहुने भएको हाे । याे पुल पूर्वनिर्धारित समयभन्दा चार महिना अगाडि नै निर्माण सम्पन्न भएको थियो । यो पुलको लम्बाइ ८ सय ६० मिटर र चौडाइ साढे १० मिटर छ ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०७३ मङ्सिर २२ गते पुलको शिलान्यास गर्नुभएको थियो । झण्डै एक अर्ब रुपैयाँ लागतको यो पुल चार वर्षभित्र बनाइ सक्ने सम्झौता भएको थियो । 

पुल नहुँदा सिसहनियाँ–महदेवा वारि–पारि गर्न वर्षायाममा उर्लिएको भेलमा जोखिमपूर्ण तरिकाले डुङ्गा तर्नुपर्थ्याे । राप्ती नदीमा पुल निर्माण भएसँगै यात्रा गर्न सहज भएको स्थानीयले बताएका छन् । पुल निर्माणबाट साविकको गोबरडिहा गाविस र साविकको सिसहनियाँ क्षेत्रका बासिन्दा लाभान्वित भएका छन् ।  

याे पुल पर्यटकीय गन्तव्यकाे रूपमा विकास भएको छ । दाङबाट मात्रै नभएर बाहिरी जिल्लाबाट समेत यहाँ पर्यटक आउने गरेका छन् । पहिले गढवा गाउँपालिकाअन्तर्गत पर्ने राप्तीपारिको क्षेत्रबाट वारि आउँदा कालाकाटे–भालुवाङ हुँदै झण्डै डेढ घण्टाको सवारी यात्रा गर्नुपर्ने अवस्था थियो, अहिले पुल निर्माण भएसँगै १५ मिनेटभित्रै वारपार गर्न सकिने भएको छ ।  

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया