काे सही काे गलत कार्यकर्ताले छुट्याउँछन् : प्रचण्ड

 माघ ५, २०७७ सोमबार १७:३२:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे दाहाल–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकीकरणका बेला गरिएका सहमतिमा केपी ओली इमानदार नभएका कारण पार्टीमा समस्या आएको बताउनुभएको छ ।  

काठमाण्डाैमा आयोजित आफू पक्षधर अखिल नेपाल महिला सङ्घको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकता गर्दा खेरि तय गरिएको विचार र विधि पद्धतिको कार्यान्वयनमा प्रधानमन्त्री ओलीले इमानदारिता नदेखाएका कारण अहिलेको परिस्थितिको सिर्जना भएको बताउनुभएको हो ।

उहाँले पार्टीभित्र व्यक्तिगत र पदका लागि सङ्घर्ष नभएको भन्दै विचार, विधि तथा पद्धतिको सङ्घर्ष भएको बताउनुभयो । राजनीतिक प्रतिवेदन तथा पार्टीको विधान अनुरूप चलेकाे/नचलको हेरेर को सही र को गलत छुट्याउन उहाँले कार्यकर्तालाई अनुरोध गर्नुभयो । प्रधानमन्त्री ओलीले पार्टी एकताको बेलामा गरेको सहमति, समझदारी तथा निर्णयको अतिक्रमण गरेपछि पार्टीमा समस्या सुरु हुन थालेको उहाँको भनाइ छ ।

अध्यक्ष प्रचण्डले पार्टीलाई बलियो बनाउने आफ्नो मनसाय भएको भए पनि प्रधानमन्त्री ओलीको शक्ति केन्द्रित गर्ने मनसाय मात्रै भएको जिकिर गर्नुभयो । ओलीले सबै सहमति किर्ते गरेका कारण प्रतिगामी सोच रहेछ भन्ने प्रमाणित भएको उहाँको भनाइ छ । प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा पुगेकाले आफूहरूले आधिकारिकता पाउने विश्वास व्यक्त गर्दै उहाँले आफूहरू नागरिकको अदालतमा जाने उहाँले बताउनुभयो ।

अध्यक्ष प्रचण्डले आन्दोलनलाई निरन्तरता दिने बताउनुभयो । माघ १६ गतेपछि आम हड्ताल नै गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै उहाँले कार्यकर्तालाई तयार रहन निर्देशनसमेत दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया