लालची स्वभाव कोरोना भन्दा पनि खतरनाक छ है !

 माघ ७, २०७७ बुधबार ६:८:४२ | दशराज शाक्य
unn.prixa.net

यस ब्रम्हाण्डमा रोगको महामारी धेरै नै आएछ, भविष्यमा पनि आइ नै रहन्छ । कोभिड–१९ को महामारी अलि फरक देखिन्छ, यसले पूरा ब्रम्हाण्डको आर्थिक गतिविधि सँगसँगै लोभी मान्छेलाई उसको सबै गतिविधिको हिसाब किताबलाई नोक्सान गरी बन्देज नै गरे जस्तै मजबूर गरिदिएको छ ।

ब्रम्हाण्डमा बसोबास गर्ने मान्छेहरुले यस कुरालाई बिर्सिरहेका छन् कि प्रकृतिको आफ्नै  एउटा व्यवस्था  र त्यस व्यवस्था अनुसार कुनै खेल खेले जस्तै मनपरी चलाउनु हुँदैन रहेछ । प्रकृति स्वतन्त्र छ, उ कहिले कुन समयमा के गर्न मन लाग्छ त्यही ताण्डव मच्चाएर देखाउँछ । पहिरो जानु, छाल आउनुु, भूकम्प आउनु र रोग–महामारी फैलाउनु उनको स्वभाव हुन् जुन असाध्यै हानिकारक हुन् । उसको यस्तो गलत प्रवृत्तिको कुरामा बिचार गर्नु मान्छेको बाध्यता हुन्छ । मान्छेहरुलाई यस्तरी विचार गराउनलाई नै महामारी आउने हो । बुद्धको पालामा पनि ठूलो महामारी आएको छ भनिन्छ । बुद्धले आफ्नो अनेक बलबुता लगाएर महामारीलाई निर्मूल पारेका रहेछन् ।

कोभिड–१९ आउनुअघि नै मान्छेहरु अनेक रोगको कारणले मृत्यु नभएको होइन । कोभिड भन्दा पहिले पनि यस ब्रम्हाण्डमा मान्छेहरु भूकम्प, बाढी, पहिरो आदिले मरेका छन् । यदि कोभिड खत्तम भएर गए पनि मान्छेहरु आफ्नो मृत्युवरण गर्न बाध्य हुने अवस्था आइ नै रहन्छ । सँगसँगै मान्छेहरुको लालची स्वभाव पनि मृत्युसँगै अन्त हुन्छ । 

कोभिड आउनुअघि यस ब्रम्हाण्डको विभिन्न सरकारबाट नागरिकलाई देखाइरहेको आधुनिकताको आडम्बरको कभर र विकासको सपनाले देखाइरहेको समय, समयको मार  र महामारीले दुःखकष्ट दिएको दृष्य हेर्न पाइएको छ । त्यो कोभिड भन्दा पनि मान्छेहरुको लोभ, लालची स्वभाव कहिल्यै पनि कम भएन । कोभिड–१९ ले पनि मान्छेहरुको लोभी स्वभावलाई जित्न सकेको अवस्था छैन ।

नेपाल प्रहरीको तथ्याँकअनुसार यसबीचमा चोरी, डकैती हत्या जस्ता आपराधिक घटना भएका छन्  । यी सबै लोभ लालचाकै कारण हो ।

संयुक्त राष्ट्रसंघको प्रतिवेदन तथ्यअनुसार विश्वका बिभिन्न देशहरुमा वायु–प्रदूषणका कारण हरेक वर्ष ७० लाख मान्छेको ज्यान जाने गरेको छ । विश्वको वातावरण यूरोपमा सफा देखिन्छ भने एशियाको विभिन्न देशमा वायु–प्रदूषणले फोहोर हुँदै गइरहेको देखिन्छ । यही प्रदूषणले मृत्यु पनि बढाइरहेको अवस्था छ, त्यो मृत्यु कालगति भने होइन । त्यस्तो मृत्युले महामारीको रुप लिने व्यापक संभावना छ । रोगको महामारीलाई निमन्त्रणा दिइरहेको हुन्छ । तर यसको चाल पाउने अवस्था रहँदैन । 

मान्छेहरुमा नियन्त्रण नभएको महत्वाकांक्षा, लोभ, लालच र ज्यादा उपभोगको  प्रवृत्तिले कहिल्यै पनि अन्त नहुने भोकले पनि वायु मात्र होइन, प्रकृतिको जैविक अवयव (थरीथरीका जडीबूटी)लाई नै नराम्ररी प्रदूषित गरिरहेको हुन्छ । विकासको नाममा विनाश गरिने एक खतरनाक प्रवृत्ति कीटनाशक औषधि छर्किने प्रक्रिया पनि हुन् । विकासको लोभले विनाशलाई निम्त्याइरहेको हुन्छ । कीटनाशक औषधिले कति मान्छेहरु मारिरहेका हुन्छन्, मरिरहेका हुन्छन् । यसको तथ्याङ्क कसैले पनि देखाउने आवश्यकता ठान्दैनन् ।

यस्तो कीटनाशक औषधिले भारतको प्रख्यात प्रान्त महाराष्ट्रमा सन् २०१९ मा २७२ जना किसानको मृत्यु भएको समाचार स्मरणीय छन् । त्यस्तै नै नेपालमा पनि समय समयमा कीटनाशक औषधिले मान्छेहरु मरेर गएका समाचार सुनिन्छन् । कीटनाशक औषधिले प्रकृतिमा भएका बालुवा, पानी, रुख र हावा दूषित भएर खेत खलिहानको बाली, मान्छेको स्वास्थ्य र जनावरहरुलाई नराम्रो असर पारिरहेका देखिन्छन् । त्यस्को निष्कर्ष यो छ कि चाँडै नै धेरै उत्पादन गरी धेरै अनुचित नाफा कमाउने लोभ, लालच हुन् । पैसा धेरै नाफा गरिरहन के गरेर हुन्छ उपाय गरेर काम गर्ने उद्देश्य राख्नु कारण नै यही लोभ, लालच हुन् ।

कोभिड–१९ को कारणले विभिन्न देशमा लकडाउन, निषेधाज्ञा पाँच छः महिनासम्म गरिदिँदा अर्थ–व्यवस्था ध्वस्त भएता पनि देश वायु–प्रदूषणबाट मुक्त भएर अक्सिजनको गुणस्तर मात्रा वृद्धि हुँदा वातावरण सफा देखिएको पाइन्छ । हिमालय पनि सफा देखियो भनिन्छ । त्यसको पुष्टि अमेरिकी अन्तरिक्ष एजेन्सी ‘नासा’ले पनि गरेको छ ।

निष्कर्ष

यदि राज्यसत्ताको जिम्मेवार सत्ताधारीहरुले ज्यादाजसो सावधानी अपनाइ आफ्नो चिसो दिमागले आफ्नो जिम्मेवारी व्यहोरेको भए कोभिड–१९ यतिसम्म चर्चित महामारी आउने थिएन होला । अर्थतन्त्रको हालखबर पनि त्यतिसम्म बिग्रने थिएन होला । बास्तवमा कोभिड–१९ यही सन्देश दिन सफल भएको छ कि मात्रामा कति चाहिने हो त्यति मात्र उपभोग, आवश्यकता पूरा गर, कर्तव्य पूरा गर भन्ने हो । विनाश हुने विस्तारवादी विचारलाई त्याग गर्नुपर्छ । लोभ, लालच छोड्नु पर्छ । शान्त रुपमा बाँचिरहुञ्जेल बाँच र बाँच्न दिनुपर्छ मान्छेरुलाई । 

कोभिड महामारी भोलि हराएर जानेछ होला । यसले दिएको सन्देशलाई सरोकार राखेन भने भोलि यो भन्दा पनि भयानक ‘महामारी’ आयो भने के गर्ने होला ? मानव जातिको भलो, हीत यसको आधारमा गुम्सिरहेको देखिन्छ । प्रकृतिलाइ सुरक्षा गर्नुपर्छ । लकडाउन र निषेधाज्ञाको संकेत यही हो कि प्रकृतिलाई मनपरी ढंगले, तानाशाही तरिकाले चुनौती दिनु हुँदैन । प्रकृतिलाई राम्रोसित हिफाजत गर्नुपर्छ, त्यसैमा मानव जातिको भावी पुस्ता सुरक्षित हुनसक्छ । 

प्रकृतिको कल्याण गर्नु नै मानव जातिको कल्याण हुनु हो । कोभिड–१९ खतरनाक भए पनि त्यो भन्दा मानव जातिको लोभ, लालची स्वभाव ज्यादा खतरनाक छ, हो । यही पाठ, शिक्षा लिनु नै आजको बुद्धिमत्ता हो, हुनेछ । 

अन्तिम अपडेट: असोज २४, २०७८

तपाईको प्रतिक्रिया