महिनौँपछि सार्वजनिक भए ज्याक मा

 माघ ७, २०७७ बुधबार १३:२५:२६ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – अलिबाबा कम्पनीका संस्थापक ज्याक मा कैयौँ महिनापछि एक पटक फेरि मिडियाको सामु आएका छन् । गएको वर्षको नोभेम्बर महिनाको सुरुवातदेखि उनी सार्वजनिक रुपमा देखिएका थिएनन् । 

आफ्नो च्यरिटी फाउण्डेशनको एक अभियानका लागि उनले भिडियो लिङ्कमार्फत ग्रामीण क्षेत्रका स्कुलमा काम गरिरहेका शिक्षकहरुसँग कुराकानी गरे । अलिबाबा कम्पनी सुरु गर्नुअघि ज्याक मा आफै अङ्ग्रेजी भाषाका शिक्षक थिए । 

चीन सरकार समर्थित मिडिया ग्लोबल टाइम्सले ज्याक माको भिडियो मिडियामा पोस्ट गरेको हो । 

ग्लोबल टाइम्सका अनुसार केही समयअघि मात्र वित्तीय नियामक संस्थाले अलिबाबा कम्पनीलाई लिएर जाँच सुरु गरेको थियो र त्यसपछि पहिलो पटक अलिबाबा मिडियामा देखिएको हो ।

सीएनबीसीका अनुसार ज्याक माको भिडियो सार्वजनिक भएपछि उनको हङकङ स्टक एक्सचेन्जमा सूचीकृत उनको कम्पनीको स्टक मूल्य पाँच प्रतिशतसम्म बढेको छ । 

गएको वर्षको अक्टोबरमा एन्ट समूह (पहिले यसलाई एन्ट फाइनेसियल एण्ड अलीपेको नामबाट चिनिन्थ्यो) को आईपीओ जारी गर्ने गरिनुलाई ज्याक माले यो अहिलेसम्मकै विश्वको सबैभन्दा ठूलो आईपीओ हुने बताएका थिए । साउदी अरामको आईपीओभन्दा यो अझै ठूलो हुन सक्ने उनले दाबी गरेका थिए ।  

शङ्घाईमा भएको एक सम्मेलनमा ज्याक माले भनेका थिए, ‘पाँच वर्षअघिसम्म या फेरि तीन वर्ष पहिलेसम्म मैले यसको कल्पना पनि गरेको थिइँन तर अहिले जे भइरहेको छ, यो जादु जस्तै छ ।’

उनको यो बयानपछि चीनको वित्तीय नियामकले उनको कम्पनीमाथि जाँच सुरु गरेको थियो र त्यसपछि ज्याक मा मिडियामा देखिएका थिएनन् । यस्तो अवस्थामा उनी कहीँ हराइरहेको अनुमान लगाइएको थियो ।  

ब्लुमबर्गका अनुसार अहिलेसम्म ज्याक मा कहाँ छन् भन्नेबारेमा थाहा भइसकेको छैन । तर अहिले सार्वजनिक रूपमा उनी देखिएपछि अब उनको बारेमा भइरहेको चर्चा समाप्त भएको छ । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया