ढल्केबर सवस्टेसन सञ्चालनमा

 भदौ १, २०७५ शुक्रबार १२:३३:४९ | रासस
unn.prixa.net

काठमाडाैं – मुलुकभित्रको प्रसारण प्रणालीमा सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत् व्यापारका लागि धनुषामा निर्माण गरिएको ढल्केबर सवस्टेसन सञ्चालनमा आएको छ । 

नेपालकै हालसम्मको ठूलो स्वचालित २२०÷१३२ केभी ढल्केबर सवस्टेसनमा चार्ज गरी विद्युत सञ्चालनमा ल्याइएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । औपचारिक रूपमा बिहीबार रातिदेखि सो सवस्टेशन सञ्चालनमा आएको हो । 

सवस्टेसन चार्ज भएपछि भारतबाट पहिलोपल्ट २२० केभी प्रसारण लाइनबाट विद्युत् आयात सुरु भएको छ । ढल्केबर सवस्टेसन निर्माण नभएकाले यसअघि १३२ केभीमार्फत् विद्युत् आयात भइरहेको थियो । 

“ढल्केबर सवस्टेसन सञ्चालनमा आउनु र आन्तरिक प्रसारण प्रणाली सुदृढीकरण हुनु दुई मुलुकबीचको विद्युत् व्यापारका लागि एउटा कोशेढुङ्गा हो,” उहाँले भन्नुभयो, “ढल्केबरमै ४००÷२२० केभीको अर्को सवस्टेसन निर्माण गरिरहेका छौँ, यसको काम पनि डेढ वर्षभित्रै सकिनेछ ।” विद्युत आदान–प्रदानका लागि ढल्केबर–मुजफ्फपुर ४०० केभीको अन्तरदेशीय प्रसारण लाइन यसअघि नै निर्माण भइसकेको थियो । 

सवस्टेसन चार्ज भएपछि नेपाल र भारतबीच थप विद्युत् आयात÷निर्यातका लागि ठूलो पूर्वाधार तयार भएको प्राधिकरणका प्रवक्ता एवं विद्युत् व्यापार विभाग प्रमुख प्रबल अधिकारीले जानकारी दिनुभयो । 

स्वचालित भएकाले काठमाडौँको स्युचाटारमा रहेको प्राधिकरणको भारप्रेषण केन्द्रबाटै सवस्टेसनको सञ्चालन र अनुगमन गर्न सकिने छ । सवस्टेसनमा १६०÷१६० एमभीए, २२०÷१३२ केभीका दुई ट्रान्सफर्मर छन् । सवस्टेसन सञ्चालनमा आएपछि हिउँदमा बढी विद्युत् माग हुने समयमा भारतबाट थप विद्युत् आयातका लागि पूर्वाधार बनेकोे छ । 

यस्तै कुल ४५६ मेगावाटको माथिल्लो तामाकोशी निर्माण भएपछि नेपालमा वर्षायाममा विद्युत् बढी निर्यात गर्नाका साथै उक्त लाइनमार्फत् इनर्जी बैंकिङ गर्न समेत बाटो खुलेको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो । हाल सो प्रसारण लाइनबाट करीब १०० मेगावाट विद्युत् आयात भइरहेको छ । 

प्राधिकरणले गत हिउँदमा ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत् बढी विद्युत् माग हुने समयमा दैनिकरूपमा १२० मेगावाटसम्म विद्युत् आयात गरेको थियो । अब थप करीब १५० मेगावाट विद्युत् आयात गर्न सकिने प्राधिकरणले जनाएको छ । मुलुकभित्रको प्रसारण प्रणाली सुदृढीकरणका लागि हेटाँैडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको निर्माण भइरहेको छ । 

यसअघि ढल्केबरमा सवस्टेसन बनाउन समय लागेपछि भारतको मुजफ्फपुर बिन्दुमा दुई ट्रान्सफर्मरमा भाडाका राखी विद्युत् आयात गरिएको थियो । ढल्केबर सवस्टेसन चार्ज भएसँगै भारतको पावर ग्रिडसँग भाडामा लिएर राखिएका ट्रान्सफर्मर अब राख्नु नपर्ने प्रवक्ता अधिकारीले बताउनुभयो । 

विश्व बैंकको नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाअन्तर्गत सवस्टेसन निर्माण गरिएको हो । नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा प्रसारण लाइन तथा सवस्टेसन निर्माण गरिएको हो । 

प्राधिकरणले सेन्ट्रल चाइना पावर ग्रिड (सिसिपिजी)सँग १२ जुन २०१४ मा हेटौँडा, ढल्केबर र इनरुवामा सवस्टेसन बनाउन ठेक्का सम्झौता गरेको थियो तर सन्तोषजक काम नगरेपछि प्राधिकरणले सिसिपिजीसँगको ठेक्का २२ सेप्टेम्बर २०१७ मा तोडेको थियो । त्यसपछि ढल्केबर सवस्टेसनको बाँकी रहेको काम गराउन टेण्डर गरी जनवरी २०१८ मा ठेक्का सम्झौता गरिएको थियो । भारतीय ठेकेदार कम्पनी टेलमोसले छ महिनामा काम सक्ने गरी ठेक्का पाएको थियो । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया