वायु प्रदुषणको मात्रा घटे पनि जोखिम कायमै

 माघ १०, २०७७ शनिबार १६:३८:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ लगायतका सहरहरुमा वायु प्रदुषणको मात्रा घटे पनि जोखिम भने कायमै रहेको वातावरण विद्हरुले बताएका छन् ।

गएको पुष २१ गते काठमाण्डौ उपत्यकामा वायु प्रदुषणको मात्रा विश्वकै उच्च तहमा पुग्यो । हावाको प्रदुषण मापन सूचक (एक्यूआई) दुई सय भन्दा माथि जानु मानिसका लागि घातक हुनेमा त्यो दिन काठमाण्डौमा एक्यूआई चार सय ८८ पुगेको थियो । त्यसपछिका दिनमा हावामा प्रदुषणको मात्रा त घट्दैछ तर जोखिम भने उत्तिकै रहेको वातावरण विभागका उपमहानिर्देशक एवम् प्रवक्ता इन्दुविक्रम जोशीले बताउनुभयो । 

शनिबार काठमाण्डौको रत्नपार्कमा एक्यूआई एक सय ७२ पुगेको छ भने भक्तपुरमा एक सय ६१ पुगेको छ । उपत्यकाका अरु प्रदुषण मापन केन्द्रहरुमा एक्यूआई औषतमा एक सय ५० रहेको वातावारण विभागले जनाएको छ । सिमरा, जनकपुर, नेपालगञ्ज, सौराहा, विराटनगर, दाङ लगायतका ठाउँमा पनि हावामा प्रदुषणको मात्रा बढेर एक सय ५० भन्दा धेरै भएको छ । यो मानव स्वास्थ्यका लागि हानिकारक भएको प्रवक्ता जोशीले बताउनुभयो । विश्व स्वास्थ्य संगठनले मानव स्वास्थ्यका लागि एक्यूआई ३५ हुनुपर्ने तोकेको छ भने नेपालले मानिसको स्वास्थ्यका लागि ठिकै मानिने एक्यूआई ५० भन्दा बढ्न नदिने लक्ष्य राखेको छ । तर शनिबार धेरैजसो प्रदुषण मापन केन्द्रमा एक्यूआई एक सय नाघेको छ । एक्यूआई एक सय नाघ्नुलाई स्वास्थ्यका लागि हानिकारक र दुई सय नाघेमा घातक मानिन्छ । 

पुसको तेस्राे हप्ता मौसम बदलीसँगै बढेको प्रदुषण केही घटेको भए पनि जोखिम कम नभएको हो । वातावरण विभागका प्रवक्ता जोशी भन्नुहुन्छ, ‘हावाको प्रदुषण घातक अबस्थामा पुगेर वातावरण विभागले सचेत गराएको अवस्था भन्दा प्रदषण घटेको छ । तर पनि अहिले ढुक्क भएर घर बाहिर निस्कने अवस्था आइसकेको छैन । काठमाण्डौ लगायतका सहरहरुमा सकेसम्म घरबाट बाहिर ननिस्कौं र निस्कनै परेमा अनिवार्य मास्क लगाएर निस्कनु उचित हुन्छ ।’

काठमाण्डौ बढी जोखिममा 

प्रदुषणका कारण काठमाण्डौ उपत्यकामा मानवीय जोखिम बढिरहेको छ । सिमरा, विराटनगर लगायत तराइका सहरहरुमा पनि उत्तिकै जोखिम छ तर तुलनात्मक रुपमा जनसंख्या बढिरहेको, उपत्यकाको भौगोलिक स्थिती प्रदुषण बढाउने खालको भएको, सवारी साधनको संख्या दैनिक बढिरहेको जस्ता कारण काठमाणडौ उपत्यकामा मानवीय जोखिम बढेको हो ।

वातावरण विभागका प्रबक्ता जोशी कचौरा आकारको भुगोल भएकोले चिसो बढी हुनासाथ सतहको हावा उपत्यका बाहिर जान नपाउँदा यहाँ प्रदुषण बढ्ने बताउनुहुन्छ । त्यसमाथि बढ्दो जनसंख्या, सवारी साधनको बढ्दो प्रयोग, आगो बाल्ने चलन नघट्नु जस्ता कारण जोखिम रहेको उहाँ बताउनुहुन्छ । काठमाण्डौ उपत्यकाको प्रदुषण नियन्त्रणका लागि कार्ययोजना बनाएर कार्यान्वयन सुरु गरेको भन्दै प्रवक्ता जोशीले हरेक व्यक्तिले प्रदुषण घटाउने पहल गर्नु आवश्यक रहेको बताउनुभयो । 

वातावरण प्रदुषणले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने डाक्टरहरु बताउँछन् । प्रदुषणको कारण आँखा, दम, मस्तिष्कघात जस्ता समस्या तत्कालै देखिन सक्छन् भने कालान्तरमा मुटु, स्वासप्रश्वास लगायत अरु जटिल समस्याहरु समेत देखिने डाक्टरहरुको भनाइ छ । वायु प्रदूषणले खासगरी बालबालिका र वृद्धवृद्धाको स्वास्थ्यमा नराम्रो असर पार्ने गरेको छ । संसारका अति प्रदूषित शहरमा पर्ने भारतको दिल्लीमा सन् २०१५ मा गरिएको एक अध्ययनले दशजना बालबालिकामध्ये चारजना गम्भीर खालको फोक्सोको समस्याबाट पीडित भएको देखाएको थियो ।  

अझै प्रदुषण बढ्ने सम्भावना 

पुसको तेश्रो हप्तामा एकाएक प्रदुषणको मात्रा बढ्नुको कारण मौसममा आएका बदली रहेको वातावारण विभागले जनाएको छ । पछिल्लो एक हप्तामा पनि देशभरको मौसम बदली भइरहेकोले प्रदुषणको मात्रा बढ्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । अझै केही दिन मौसम बदली हुने तर पानी भने नपर्ने भएकोले हावाको प्रदुषण बढ्ने उहाँको भनाइ छ ।

उहाँ भन्नुहुन्छ, ‘यो वर्ष पानी कम पर्यो, जमिन सुख्खा भएकाले वातावरण प्रदुषण अझै बढ्ने देखिएको छ ।’ पानी परेपछि मौसम सफा भइ हावाको प्रदुषणको मात्रा घट्ने मानन्धरले बताउनुभयो । तर तत्काल पानी पर्ने सम्भावना भने छैन । 

मानवीय क्रियाकलापकै कारण नेपालको संघीय राजधानी काठमाण्डौ सहित मुख्य सहरहरुमा दिनदिनै वायु प्रदुषण बढिरहेको छ । प्रदुषणका कारण तत्काल तथा दीर्घकालमा विभिन्न स्वास्थ्य समस्याहरु आउने भएकोले प्रदुषण नियन्त्रणका लागि सबैले पहल गर्नुपर्ने देखिन्छ ।

प्रदुषण बढेको समयमा घर बाहिर निस्कँदा मास्क अनिवार्य लगाउने तथा हावाको प्रदुषण घटाउन हरेक व्यक्तिले आगो बाल्ने, सवारी साधन चलाउने लगायतका क्रियाकलाप कम गर्न वातावरणविद्हरुको सुझाव छ । 
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया