प्रतिनिधि सभाले सरकारलाई सहयाेग गरेकै हाे, न नारा लाग्याे न बेल घेर्ने काम भयाे : सापकाेटा

 माघ १२, २०७७ सोमबार १७:५५:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विघटित प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाले सरकारलाई सहयोग गरेन भन्ने कुरामा कुनै सत्यता नभएको बताउनुभएको छ । 

सोमबार अन्तरपार्टी महिला सञ्जालले प्रतिनिधि सभा सुरु गर्न माग गर्दै बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै सापकोटाले प्रतिनिधि सभाले कहिल्यै पनि सरकारलाई असहयोग नगरेको बताउनुभएको हो । प्रतिनिधि सभामा एकदिन पनि सत्तापक्ष र प्रतिपक्ष कसैले पनि सरकारको विरोध गरेर सरकारले दिएको बिजनेसमाथि प्रभाव नपारेको बताउनुभयो । 

प्रतिनिधि सभामा अराजकता भयो, अनुशासन भएन भन्ने सरकारको आरोपमा कुनै सत्यता नभएको विघटित प्रतिनिधि सभाका सभामुख सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कुनै दिन पनि न त्यहाँ त्यस्तो नारा लाग्यो न बेल घेर्ने काम भयो । सौहार्द ढङ्गले र व्यवस्थित ढङ्गले हामीले लोकतन्त्रको मूल्य मान्यता, आदर्शलाई स्थापित गर्नका लागि, छलफलको वातावरण बनाउनको लागि हामीले भगीरथ मेहनत गर्‍याैँ । हामी सबै सांसदहरू, सचिवालयका कर्मचारीहरू सबैले अहोरात्र खटेर र सबै अनुशासित भएर सदन सञ्चालन गरेका थियौँ । जुन अहिले सहयोग भएन, त्यहाँ अराजकता भयो, अनुशासन भएन भन्ने कुरा आइरहेको छ, त्यो सत्य छैन ।’

उहाँले प्रतिनिधि सभाको अधिवेशन सुरु गर्ने कुरामा सरकारले अवरोध गर्नु बेठिक भएको पनि बताउनुभएको छ । प्रतिनिधि सभाले नीति तथा कार्यक्रम र बजेट पास गर्ने कुरामा कहिल्यै पनि अवरोध नगरेको तर सरकारले विघटन गरेर प्रतिनिधि सभालाई सञ्चालन गर्न अवरोध गरेको उहाँले बताउनुभयाे ।

सापकाेटाले भन्नुभयो, ‘म के भन्न चाहन्छु भने एउटा यस्तो अवरोध गरेको कुरा चाहे त्यो नीति तथा कार्यक्रम पास गर्ने कुरामा होस्, चाहे बजेट पास गर्ने कुरामा होस्, कुनै कुरामा पनि प्रतिनिधि सभाले सहयोग नै गरेको छ । कार्यपालिकालाई कहिल्यै पनि असहयोग गरेको छैन । त्यसकारण यस्तो परिस्थितिमा जुन खालको अवरोध सिर्जना गरिएको छ, त्यो बेठिक छ ।’

प्रतिनिधि सभाले संविधान संसोधन गरेर नक्सा पास गरि अभूतपूर्व एकता देखाएको अवस्थामा अवरोध सिर्जना गर्‍याे भन्नु गलत भएको पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले संविधान संशोधन गरेर नक्सा पास गर्‍याैँ, त्यो सायदै अभूतपूर्व एकता थियो हाम्रो प्रतिनिधि सभामा प्रकट भएको । त्यसैगरी यो पनि स्पष्ट पार्न चाहन्छु प्रतिनिधि सभाभित्र न प्रतिपक्षले, न कुनै माननीय सदस्यहरूले कुनै खालको अवरोध गर्नुभएको थिएन ।’

प्रतिनिधि सभा फेरि पनि सुरु गर्नुपर्छ भन्ने आवाज आइरहेको उल्लेख गर्दै सापकोटाले यस सम्बन्धमा आफूले अध्ययन गरिराखेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘दुई वटा सदन चलाएको अनुभवसहित हाम्रो व्यवस्थित देशको सर्वाङ्गीण कुरामा ध्यान दिँदै व्यवस्थित ढङ्गले सभा सञ्चालन गर्ने तयारी हुँदै गर्दा खेरि हठात् प्रतिनिधि सभा सञ्चालनमा आबरुद्धता आएको छ । त्यसलाई सुरु गर्नपर्छ भनेर तपाईँहरूले मात्रै होइन यो देशका सबै संविधानविद्, कानुनविद्, विज्ञ, राजनीतिक पार्टीका नेता अधिकांशले चिन्ताका साथ सुरु हुनुपर्छ भन्ने आवाज उठाइ राख्नुभएको छ । त्यस सम्बन्धमा म गम्भीरतापूर्वक, जिम्मेवारीपूर्वक अध्ययन गरिराखेको छु । विश्लेषण गरिरहेको छु ।’ 

सभामुख सापकोटाले प्रतिनिधि सभाले सरकारलाई जहिले पनि सहयोग गरेको कुरालाई समेटेर अदालतलाई समेत जवाफ दिएको बताउनुभयो ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया