मैले अर्काे पार्टी बनाएकाे छैन : वामदेव गाैतम

 माघ १४, २०७७ बुधबार १५:२८:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले विभाजित पार्टीलाई एकता गराउने भन्दै एकता राष्ट्रिय अभियानको घोषणा गर्नुभएको छ ।

बुधबार ललितपुरको धोबीघाटमा कार्यक्रम गरि उपाध्यक्ष गौतमले विभाजित नेकपालाई एकता गराउनका लागि नेकपा एकता राष्ट्रिय अभियानको घोषणा गर्नुभएको हो । नेकपा केपी शर्मा ओली पक्ष र पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षमा राजनीतिक रूपमा विभाजित भए पनि गौतम तटस्थ रहँदै आउनुभएको थियो ।

आफू एकताको पक्षमा रहेको सार्वजनिक अभिव्यक्ति दिँदै आउनुभएका गौतमले बुधबारदेखि औपचारिक रूपमै एकता अभियान घोषणा गर्नुभएको हो । उपाध्यक्ष गौतमले पार्टी विभाजनको पक्षमा कोही नभएको भन्दै शक्ति निर्माण गरेर दुई पार्टीलाई एक बनाइ छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

शीर्ष नेताहरू विभाजित भए पनि पार्टीका दोस्रो र तेस्रो तहका नेताहरू एकता भङ्ग भएकोमा चिन्तित रहेको भन्दै उहाँले आफूले संयोजन गरेर दोस्रो, तेस्रो तहका नेताहरूलाई अघि बढाउने बताउनुभयो । ६ महिनाभित्र पार्टी एकता गराइ सक्ने उपाध्यक्ष गौतमले दाबी गर्नुभयो । ६ महिनाअघि नै एकता हुन सक्ने पनि उहाँको भनाइ छ ।

उपाध्यक्ष गौतमले ओली पक्षधर र प्रचण्ड–नेपाल पक्षधरलाई आफ्नो पक्षमा ल्याउने बताउनुभयो । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको पक्षमा फैसला गरे पनि आफूहरूले त्यस फैसलालाई शिरोधार्य गर्ने उहाँको भनाइ छ । वैशाखमा चुनाव भए राम्रो उम्मेदवार छानेर भोट हाल्ने भन्दै प्रतिनिधि सभा पुनर्स्थापना भयो भने पार्टी एकीकरण गराउन समयसमेत प्राप्त हुने उहाँले बताउनुभयो । प्रतिनिधि सभा पुनर्स्थापना भए पार्टी एकता जोगाउन सकिने भएकाले आफ्नो भित्रि धारणा प्रतिनिधि सभा पुनर्स्थापनाकाे पक्षमा रहेको नेता गाैतमले  बताउनुभयो ।

उपाध्यक्ष गौतमले नेकपालाई विभाजन गर्न अध्यक्षद्वय ओली र प्रचण्डको बराबरी भूमिका रहेको बताउनुभयो । पार्टी एकताको महत्त्वपूर्ण आधार नै आलोपालो भएको भन्दै गौतमले २०७५ मङ्सिर ४ गते अध्यक्ष प्रचण्डलाई कार्यकारी भूमिका दिएपछि पार्टी एकता गर्दाको सहमतिअनुसार आलोपालो प्रधानमन्त्री प्रचण्डले छाड्नु नै पार्टी विभाजनको सुरुवात भएको बताउनुभयो ।

उपाध्यक्ष गौतमले अर्को पार्टी बनाउँछन् भन्ने सन्देश गएको भन्दै आफूहरूले अर्को पार्टी नबनाएको स्पष्ट पार्नुभयो । सर्वाेच्चमा परेको मुद्दा फैसला हुनेबित्तिकै ओली र प्रचण्ड पक्षका नेताहरू पनि आफूहरूसँग मिसिन आउने उहाँको दाबी छ । 

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया