पहिलाे दिन नाै हजारभन्दा धेरैले लगाए काेराेना खाेप

 माघ १४, २०७७ बुधबार १९:१२:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको पहिलो दिन बुधवार नौ हजार जनाभन्दा धेरैले खोप लगाएका छन् । बुधवार ६४ जिल्लाका ९३ खोप केन्द्रबाट नौ हजार ८४ जनाले खोप लगाएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बुधबार खोप लगाउनेमध्ये प्रदेश १ मा एक हजार दुई सय ५५ जना, प्रदेश २ मा सात सय २६ जना, वाग्मती प्रदेशमा दुई हजार छ सय ९४ जना र गण्डकी प्रदेशमा एक हजार आठ सय ४३ जना रहेका छन् ।

यस्तै लुम्बिनी प्रदेशमा सात सय ३३ जना, कर्णालीमा सात सय ५१ जना र सुदूरपश्चिम प्रदेशमा एक हजार ८२ जनाले खोप लगाएकाे मन्त्रालयले जनाएको छ ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोप सरकारले केही दिनअघि ल्याएको थियो । ७७ वटै जिल्लामा खोप केन्द्र सञ्चालन गरेर आउँदो १० दिनभित्र चार लाख ३० हजार जनालाई पहिलो चरणको खोप दिने सरकारले जनाएको छ ।

पहिलो डोज खोप लगाएकाहरूले २८ दिनपछि दोस्राे डोज खोप लगाउन सक्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । 

खोप अभियानको शुभारम्भ समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको लडाइँलाई नयाँ चरणमा उठाएकाे बताउनुभयो । अब कोरोना नियन्त्रणका लागि महत्त्वपूर्ण चरणमा पुगेको भन्दै उहाँले तीन महिनाभित्र खोप लगाउन योग्य सबै नेपालीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने दाबी पनि गर्नुभयो ।

उहाँले कोरोनाविरुद्धको खोप नाफा कमाउने तथा व्यापारको माध्यम बन्न नहुने भन्दै सरकारले सबैलाई निःशुल्क उपलब्ध गराउने बताउनुभयो ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको अभियानमा अग्रपङ्क्रतिमा रहि सेवा प्रदान गर्ने सबैमा आभार व्यक्त गर्नुभएको छ । कोरोनाविरूद्धको खोप शुभारम्भका अवसरमा सन्देश दिँदै राष्ट्रपति भण्डारीले  विश्वका सबै देशमा खोपको न्यायोचित वितरण समुचित मूल्यमा हुनुपर्छ भन्ने नेपालको सुस्पष्ट मान्यता रहेको बताउनुभयो ।  

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया