खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
पोर्चुगल – पोर्चुगललाई कर्मथलो बनाउँदै आएका नेपालीले विश्वव्यापी महामारीको समय सही तवरले सदुपयोग गरेका छन् । कोरोनाको कारण उद्योग, व्यवसायको उत्पादनमा गिरावट आएपछि बेरोजगार भएका नेपालीले घरमै बसी आम्दानी हुने बाटो खोजी गर्न थालेका छन् ।
हुन पनि सन् २०२० को शुरुआतसँगै विश्व कोभिडबाट त्रसित भयो । विश्वका लाखौँ नागरिक सङ्क्रमित भए । ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएकाले प्रायः सबै देशले आपतकाल घोषणा गरे । रोजगारीका लागि विश्वभर छरिएका नेपाली जस्तै यहाँ बस्दै आएका नेपाली बेरोजगार भए । बसाइँ अनुमतिपत्र बनाउन सजिलो हुने भएकाले पछिल्लो समयमा पोर्चुगलमा आप्रवासी बढेसँगै नेपाली समुदायको पनि सङ्ख्या बढ्दै गएको छ । यसरी बेरोजगार भएका केही नेपालीले सरकारबाट पाइने सुविधा बेरोजगारी भत्ता (फुण्दो) पाएर दैनिक खर्च टारेका छन् त केही नयाँ बसाइ अनुमतिपत्र नबनिसकेका नेपालीलाई सरकारी सुविधा, रोजगार, बेरोजगारी भत्ता नभएकाले बस्न, खान निकै समस्या छ ।
शुरूआतका केही समय नेपालबाट पैसा मगाउँदै दैनिकी खर्च टार्दै गरे पनि लामो समसयसम्म कोरोनाको महामारी नरोकिएपछि थप समस्यामा परेका नेपाली युवायुवतीले घरमा बसी आम्दानी हुने बाटो खोजी गर्न थालेका छन् । समयको मागअनुसार आफ्नो सीपको सदुपयोग गर्दै आम्दानीको स्रोत खोज्नतिर नेपाली केन्द्रित भएका छन् । बाक्लो सङ्ख्या रहेका नेपाली समुदायलाई आवश्यकता पर्ने मःमः, समोसा, सेलरोटी, पनिरलगायत खाद्यान्न तयार गरी बिक्री वितरण गर्ने अभियानको शुरुआत गर्दै नेपालीले पनि मनग्ये आम्दानी गर्न थालेका छन् ।
पर्बत घर भइ विगत एक वर्ष पहिला पोर्चुगल आउनुभएका घनश्याम भुुसाललाई तयारी मःम बनाउन भ्याइनभ्याई छ । दैनिक १०० प्लेटभन्दा बढी मःमको माग आउँछ । शुरु–शुरुमा १०/१२ प्लेट माग आउने गर्थ्याे । सुरुमा म:म एक्लै बनाउँदै आउनुभएको तर अहिले बजारमा माग बढी आउन थालेपछि श्रीमती र आफू मःम बनाउँनै व्यस्त हुनुहुन्छ । अझ आफूले बनाएको मःम नेपालीले मात्रै नभएर विदेशीले पनि लैजाने गरेको बताउनुहुन्छ उहाँ ।
उहाँ मात्रै होइन, सुनिता सापकोटा पनि सेलरोटी, समोसा बनाउन व्यस्त हुनुहुन्छ । उहाँ नेपालबाट काम गर्ने अनुमति लिएर पोल्याण्ड आउनुभयो, तर बसाइँ अनुमतिपत्र बनाउन सहज हुने हुटहुटीले पोर्चुगल आउनुभयो । उहाँ पोर्चुगल आएपछि कोरोना शुरु भयो । अनि उहाँले जानेको सीप सेलरोटी बनाउने भएकाले बजारमा सेलरोटीको माग छ कि छैन भनेर बजारको अध्ययन गर्न थाल्नुभयो । उहाँलाई हौसला प्रदान गर्दै काम गर्न अनुरोध गरेपछि अहिले बाहिर काम खोज्नु पर्ने अवस्था छैन ।
बनेपाका कृष्ण तिमिल्सिना घरमा दूधबाट पनिर बनाउन निकै व्यस्त हुनुहुन्छ । उहाँ पनि कोभिड प्रभावले घरमा पनिर तयार गर्ने अभियानमा लाग्नुभयो । दश वर्षे जनयुद्धमा होमिनुभएका तिमिल्सिना शरीरमा गोलीको छिर्का लिएर उज्ज्वल भविष्य बनाउन युरोपेली देश पोर्चुगलमा हुनुहुन्छ । रोजगारीको खोजीमा विदेशिनु भएका तिमिल्सिनालाई कोभिडले झनै समस्या थप्यो । जीविकोपार्जन गर्न कठिनाइ भएपछि अहिले उहाँले पनिर बनाउँदै आउनुभएको छ । दैनिक आठ घण्टा काम गर्दा मासिक ६ सय ६५ युरो पारिश्रमिक यहाँको सरकारले तोकेको भए पनि आफैँ घरमा पनिर बनाउँदा मासिक एक हजार युरोसम्म कमाइ भएको छ ।
“मेरो दुःख देख्नेहरुले पनिर किनिदिएर सहयोग गर्नुहुन्छ । म उहाँहरुप्रति निकै आभारी छु”, उहाँले भन्नुभयो ।
उहाँहरु त प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । उहाँहरुजस्तै विभिन्न किसिमका काम गर्दै घरमै बसीबसी आयआर्जन गर्नेहरुको सङ्ख्या बढ्दो छ । इन्टरनेटको माध्यमद्वारा बसाइँ अनुमतिपत्र बनाउन आवश्यक पर्ने कागजपत्र बनाउन वा प्रमाणीकरण गर्ने कामलाई सहजीकरण गर्दै आयआर्जन गर्नेहरुको सङ्ख्या पनि थुप्रै छ ।
घरघरमा पुगी सेवाग्राहीको चाहनाअनुसारको सौन्दर्य सम्बन्धित सेवा प्रदान गरिरहेका नेपाली दिदीबहिनी पनि उल्लेख मात्रामा भेटिनुहुन्छ पाेर्चुगलमा ।
कोरोना महामारीको प्रकोप अझै पनि दिनानुदिन बढिरहेकाले पोर्चुगलमा बसोवास गरिरहेका नेपालीमाझमा रोजगारीको सम्भावना खोजीमा लाग्ने नेपालीको सङ्ख्या दिनानुदिन बढिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।