वैदेशिक रोजगारीमा जान एअरपोर्ट पुगिसकेपछि म्यानपावरले ढाँट्यो

 माघ १६, २०७७ शुक्रबार ११:२६:५६ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

खेलबहादुर थिङ/सिन्धुपाल्चोक ।

घरबाट बिदा माग्दै कमाउन विदेश हिँडेको मानिस एक हप्तापछि फेरि घर नै फर्किनुपरेको पीडा कस्तो हुन्छ ? धोका दिने एजेण्ट र म्यानपावरले त यो कुराको कल्पना पनि गर्न सक्दैनन् । तर एउटा गरिबको छोरो, जो साहुको ऋण काढेर विदेशमा कमाउने सपना देखेर साहुको ऋण काढ्छ, काठमाण्डौ आउछ, एअरपोर्ट पुग्छ र सपनाहरु त्यही बिसाएर रित्तै घर फर्कंदाको पीडा भोग्ने मजस्तालाई मात्र थाहा हुन्छ । 

आजभन्दा तीन वर्षअघि मैले पनि यूएई जाने सपना बुनें । साथीभाइले गुडलक म्यानपावरमार्फत प्रक्रिया अघि बढाउन सुझाव दिए । त्यही म्यानपावरमार्फत विभिन्न देशमा पुगेर साथीभाइले कमाएकै थिए । मलाई पनि म्यानपावरमाथि विश्वास थियो । 

गाउँबाट म्यानपावरमा आएँ, काम र कमाइको बारेमा बुझ्दा यूएईमा सेक्युरिटीको काम मिल्ने भयो । 

अन्तर्वार्ता भयो । अन्तर्वार्ता लिने मानिस पनि विदेशी नै थिए । अंग्रेजी भाषामा लिखित र मौखिक दुवै भयो अन्तर्वार्ता पनि । उसले हामीलाई शंका गर्ने त कुनै ठाउँ नै दिएको थिएन । जुन हिसाबले हाम्रो परिक्षा लिइयो त्यो देख्दा त ओहो अब काम र कमाइ खतरा छ कि जस्तो लागेको थियो । 

त्यसपछि मेडिकल भयो । त्यो बेलासम्ममा मैले एक लाख ५० हजार रुपैयाँ बुझाइसकेको थिएँ । मैले प्रक्रिया थालेको लगभग सात महिनामा म्यानपावरले मसहित अरु साथीलाई पनि पर्सीको उडान छ, टिकट पनि भइसक्यो भनेर काठमाण्डौ बोलायो । त्यो बेलासम्ममा मैले उसलाई तीन लाख रुपैयाँ बुझाइसकेको थिएँ । काम र कमाइ राम्रो हुन्छ भन्ने आशमा नै मैले सयकडा तीनका दरले ऋण काढेर बुझाएको थिएँ पैसा पनि । 

उडान नै तय भइसकेको खबर पाएपछि घरबाट सबैसँग बिदा भएर झोला बोकेर काठमाण्डौ आइयो । काठमाण्डौमा म्यानपावरको कार्यालय गइयो । म्यानपावर जाँदा त मुख्य मानिस नै भेटिएन । बल्ल बल्ल फोन सम्पर्क भयो । उसले अबको तीन दिनपछि उडान छ भन्यो । उसले जहिले भने पनि कुर्नुको विकल्प थिएन । 

पर्सीको उडान भनेकाले तीन दिनपछि विदेश जान झोला बोकेर विमानस्थल पुग्यौं । हामी पो विमानस्थल पुग्यौं त हामीले टिकट दिने म्यानपावरका प्रतिनिधि आएनन् । 

हिँड्न त विदेश नै हिँडेको हो नि । एअरपोर्ट पनि पुगियो तर न पासपोर्ट  छ न त टिकट कसरी जानु । फोन गर्दा फोन पनि लागेन । त्यसपछि केही होला कि भनेर दुई दिनसम्म काठमाण्डौमा नै कुरियो । तर सम्पर्क नै हुन नसकेपछि घर फर्किएँ । 

कमाउनको लागि घरबाट बिदा मागेर हिँडेको मानिस, केही दिनपछि त्यही झोला बोकेर गाउँ पुग्दा त मरेकै जुनी भयो । 

त्यति बेला बल्ल बुद्धि आयो । म्यानपावरले यसरी झुक्याउँदा रहेछन् भन्ने अनुभव भयो । त्यसअघि म कहिले कतै पनि गएको थिइनँ । साथीभाइले त्यो म्यानपावरले राम्रोसँग पठाउँछु भनेकाले पनि म ढुक्क थिएँ । तर म्यानपावरको मात्र विश्वासमा अघि बढ्न नहुने रहेछ । 

विदेशमा आफूले गर्ने काम, कमाइ र हुनसक्ने ठगीका बारेमा पहिलेदेखि नै बुझ्न पर्ने रहेछ । मलाई त यो कुराको अनुभव ठगीमा परेपछि मात्र भयो तर तपाईँहरू बच्नुहोस् । 

अब ठगीमा त परियो । न्याय माग्ने कहाँ ? वैदेशिक रोजगार विभागमा गएर आफ्नो समस्या राखियो । अहिले त तीनवर्ष भइसक्यो न विभागले न्याय दिएको छ  न त म्यानपावरकाे प्रतिनिधि भेटिएका छन् । मैले विभागमा उजुरी दिएपछि एकपटक म्यानपावरबाट फोन आएको थियो । तपाईँले त्यसरी उजुरी नदिएको भए हुन्थ्यो, सबै कारोबार रोक्का गरिदियो विभागले भनेको थियो । तर त्यसपछि कहिले पनि कुरा भएन । 

विभागमा म्यानपावरका प्रतिनिधि बेलाबेलामा जान्छन् रे मुद्दा मिलाउन भन्ने कुरा चाहिँ सुनेको छु । तर त्यसबारे विभागबाट हामीलाई खबर आएको छैन ।

सयकडा तीनमा काढेको ऋणको ब्याज तिर्दै मलाई त फुर्सद छैन । के गर्नु पहिले नै सोचेर बुझेर मात्र पैसा दिन पाएको भए हुने रहेछ । नजानेर म त ठगीमा परिहालें । तपाईँहरू चाहिँ बच्नुहोस् भन्न चाहन्छु ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया