खुल्यो कोइलाबास नाका, स्थापना गरिँदै हेल्थडेस्क

 माघ १९, २०७७ सोमबार १३:५६:३४ | हेमराज शर्मा
unn.prixa.net

दाङ - कोरोना भाइरसको सङ्क्रमणलाई नियन्त्रण तथा रोकथामको लागि सरकारले बन्द गरेको भारतसँग जोडिएको दाङको कोइलाबास नाका खुला गरिएकाे छ । 

काेराेना भाइरस नेपाल भित्रिन नदिनको लागि नेपाल सरकारले गएकाे चैत्र ११ गतेदेखि नेपालमा लकडाउनको घोषण गरेर नेपाल भारत सीमाक्षेत्र प्रवेशद्वारमा आवतजावतमा रोक लगाएको थियो । 

करिब दश महिनापछि गृह मन्त्रालयले मन्त्रिपरिषद् बैठकले कोइलाबास नाका खुला गर्ने निर्णय गरेको हो । लामो समयसम्म नाका बन्द हुँदा जीवन थप कष्टकर बन्दै गएको स्थानीय खालकी सिद्धिकिले कोइलाबास नाका खुला भएसँगै जनजीवन सहज भएको जानकारी दिनुभयो । 

कोभिड-१९ को कारण लगातार आठ महिना लामो समयसम्म बन्द रहेको नाका तत्काल खुला गरी व्यवस्थित र सहज बनाउन स्थानीयहरुले माग गर्दै आइरहेका थिए । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कोइलाबासका प्रमुख माधव ढुङ्गेलले नाका बन्दका कारण स्थानीयले निक्कै पीडा खेप्नु परेको जानकारी दिनुभयो । 

दाङ जिल्ला प्रमुख अधिकारी जयनारायण आचार्यले स्थानीय पालिकाले कोइलाबास नाकामा तुरुन्तै हेल्थडेस्क स्थापना गर्नुपर्ने बताउनुभयो । ‘नाका खुला भएपछि स्वास्थ्य जाँचको लागि अनिवार्य रुपमा हेल्थडेस्कको स्थापना गर्नुपर्ने हुन्छ' उहाँले भन्नुभयो ' गाउँपालिका हेल्थडेस्कको स्थापना गर्नासाथ हामीले यताबाट सीमाक्षेत्र खुला गर्न परिपत्र गर्छौ । सीमाक्षेत्रमा जोकोही पनि जाँचको क्रममा रिपोर्ट नेगेटिभ आए प्रवेश गर्न दिने अन्यथा रिपोर्ट पोजेटिभ आएमा प्रवेशमा रोक लगाइने छ ।’ 

गढवा गाउँपालिका अध्यक्ष सहजराम यादवले जिल्ला प्रशासन कार्यालय दाङबाट कोइलाबास नाकामा स्वास्थ्य जाँचको लागि हेल्थडेस्क स्थापना गर्ने परिपत्र आए तत्कालै स्थापना गरेर स्वास्थ्यकर्मी खटाउने जानकारी दिनुभयो । 

गएकाे बिहीवार गृह मन्त्रालयले मन्त्रिपरिषद् निर्णयका आधारमा जिल्ला प्रशासन कार्यालयलाई नाका खुलाउन सर्कुलर पठाएको हो । यसअघि १४ नाका खोलिएकामा माघ ११ को मन्त्रिपरिषद्ले थप १६ नाका खुलाउने निर्णय लिएको हो । 

भारततर्फका धेरै नाका बन्द हुँदा सीमाका नेपालीले घरायसी सामान खरिद, नातागोता भेटघाट र खेतीपातीका लागि समेत सहजै ओहोरदोहोर गर्न पाएका थिएनन् । खोलिएका नाकाबाट नेपालीले भारतीय बजार पुगेर तोकिएको मापदण्डभित्र रहेर घरायसी सामान खरिद गर्न पाउनेछन् ।

 

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया