‘राजनीतिक दलले आफ्ना मुद्दा निर्वाचन आयाेगकाे टाउकाेमा हाल्न हुँदैन’

 माघ १९, २०७७ सोमबार १६:३९:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निर्वाचन आयोगले चुनावकाे तयारीका सम्बन्धमा आयाेगका पूर्वप्रमुख निर्वाचन आयुक्तहरूसँग छलफल गरेको छ । निर्वाचन आयोगले सोमबार चुनावकाे तयारीका सम्बन्धमा निर्वाचन आयोगका पूर्वप्रमुख निर्वाचन आयुक्तहरूसँग छलफल गरेको हो । 

पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले अहिले देशमा राजनीतिक मुद्दाले समस्या परेको र त्यसको समाधान राजनीतिक दलहरूसँग नै भएकाले निर्वाचन आयोगलाई कुनै राजनीतिक दलले अप्ठ्यारो पार्नु नहुने बताउनुभयो । राजनीतिक निकाश हुनासाथ चुनाव गर्न निर्वाचन आयोग प्राविधिक रूपमा तयार रहेको आयोगले जनाएको उहाँको भनाइ छ ।

पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले राजनीतिक समस्या राजनीतिक दलहरूले सुल्झाउनुपर्ने र निर्वाचन आयोगले चुनावकाे तयारी गर्नुपर्ने बताउनुभयो । मतपत्रको डिजाइन र पार्टी दर्ता नहुञ्जेलसम्म चुनावकाे तयारी पूर्णरूपमा नहुने भन्दै उहाँले विभाजित मनस्थितिमा रहेको दल विभाजित हुने हो भने विभाजनको प्रक्रियामा गएर निर्वाचन आयोगलाई सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । 

दलीय समस्या समाधान गरेर चुनावमा जानुपर्ने र त्यो गर्न सक्ने क्षमता निर्वाचन आयोगसँग रहेको उहाँको भनाइ छ । राजनीतिक दलहरूले आफ्नो मुद्दालाई निर्वाचन आयोगको टाउकोमा हाल्नु नहुने उहाँले बताउनुभयो ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले पूर्वप्रमुख निर्वाचन आयुक्तहरूसँग आयोगले अहिलेसम्म गरेको चुनावकाे तयारीका सम्बन्धमा जानकारी गराएको बताउनुभयो । उहाँले प्रमुख निर्वाचन आयुक्तहरूसँगको आयोगको छलफल नियमित भेटघाटको रूपमा रहेको स्पष्ट पार्नुभयो । 

सहायक प्रवक्ता धमलाले चुनावकाे तयारी अघि बढिरहेको बताउनुभयो । मतदाता नामावली अद्यावधिककाे काम तथा मतदान केन्द्रको विषयमा काम भइरहेको उहाँको भनाइ छ । 

कतिपय चुनाव सामग्री मौज्दात रहेको र कतिपय खरिद गर्नुपर्ने उहाँले बताउनुभयो । सहायक प्रवक्ता धमलाले घोषित चुनाव तोकिएकै मितिमा सम्पन्न गर्न आयोग प्राविधिक रूपमा तयार रहेको पनि बताउनुभयो । 

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया