दाहाल–नेपाल समूहकाे निर्णय : निर्वाचन आयाेगमा पार्टीकाे आधिकारिकता दाबी गर्ने

 माघ १९, २०७७ सोमबार १७:३३:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरि निष्कासन गर्ने निर्णय गरेको छ । 

सोमवार काठमाण्डाैकाे बबरमहलमा रहेकाे एक पार्टी प्यालेसमा बसेको नेकपा दाहाल–नेपाल समूहकाे केन्द्रीय कमिटीको चौथो बैठकले यसअघिको स्थायी कमिटीबाट आएको प्रस्तावअनुसार प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको हो । 

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरि निष्कासन गर्ने निर्णय गरिएकाे बताउनुभयो । यस्तै स्थायी कमिटीले महासचिव विष्णुप्रसाद पौडेललाई निष्कासन गरेको निर्णयलाई समेत अनुमोदन गरेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘बैठकले यसअघि बसेको स्थायी कमिटीको प्रस्तावअनुसार केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाटै निष्कासन गर्ने निर्णय गरेको छ । साथसाथै स्थायी कमिटीले नै पार्टीबाट महासचिवलाई पदमुक्त गरिसकेको सन्दर्भमा त्यो निर्णयलाई पनि केन्द्रीय कमिटीले अनुमोदन गरेको छ ।’

बैठकले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्ने निर्णयसमेत गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । यसअघि पार्टीको बैठकले पदाधिकारीको फेरबदल गर्ने निर्णयसहित अद्यावधिक गर्न अनुरोध गरेकोमा निर्वाचन आयोगले अद्यावधिक नगरि पार्टीलाई पत्र पठाएको सन्दर्भमा पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय बैठकले गरेको पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘निर्वाचन आयोगले पार्टीको विधानअनुसार पार्टीका बैठकहरू गरेर पार्टीको पदाधिकारीको सन्दर्भमा फेरबदल गरिएको निर्णयसहित अद्यावधिक गर्न अनुरोध गरेकोमा त्यो अद्यावधिक गर्नेबारेमा जुन पत्र निर्वाचन आयोगले हाम्रो पार्टीलाई पठाएको छ, त्यस सन्दर्भमा पार्टीको तर्फबाट लिखित जवाफसहित पार्टीको आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोगलाई पत्र लेख्ने पनि बैठकले निर्णय लिएको छ ।’

प्रतिनिधि सभा विघटनविरुद्धका कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको र अर्को चरणको सङ्घर्षका कार्यक्रम घोषणा भइसकेको सन्दर्भमा पार्टीका सबै कमिटीहरूलाई परिचालन हुन निर्देशन जारी गरेको पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो । 

यस्तै बैठकले म्यानमारमा लोकतान्त्रिक प्रणालीका विरुद्ध घटेको घटनालाई अनुपयुक्त भन्दै निन्दा गरेको समेत प्रवक्ता श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हिजो मात्रै म्यानमारमा लोकतान्त्रिक प्रणालीका विरुद्ध/लोकतन्त्रका विरुद्ध जुन घटना घटेको छ, त्यो घटनालाई हाम्रो पार्टीले अनुपयुक्त भन्दै निन्दा गरेको छ । थप घटनाक्रमको विकासलाई पार्टीले गम्भीरतापूर्वक नियाल्ने छ र पार्टी सधैँ लोकतन्त्रको पक्षमा छ र त्यसप्रति हाम्रो नैतिक समर्थन रहेको छ ।’ 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया