रेल चलाउन छिट्टै जनकपुर आउँछु : प्रधानमन्त्री ओली

‘चुनाव एक दिन पनि तलमाथि सर्दैन’

 माघ १९, २०७७ सोमबार १७:४८:१४ | रासस
unn.prixa.net

धनुषा – प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको तयारीमा निर्वाचन आयोग अगाडि बढिसकेकाले चुनाव एक दिन पनि तलमाथि नसर्ने बताउनुभएको छ । धनुषाको मिथिला नगरपालिका ७ को ढल्केबरमा सङ्घीय सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्मित नेपालको पहिलो ४०० केभी सबस्टेशन तथा विश्व बैंकको सहुलियतपूर्ण ऋण एवं नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्माण भएको २२०/१३२ केभी सबस्टेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो,  ‘प्रदेश नं २ मा वैशाख १७ गते नै चुनाव हुने भएकाले चुनावको तयारीमा लाग्ननुस् ।’  

प्रधानमन्त्री ओलीले सही, राम्रा र नयाँ कामको सुरुवात गर्नका लागि पुरानो परम्परा तोड्नुपर्ने बताउँदै पशुपतिनाथमा एक सय ४१ किलोको सुनको जलहरी हालिदिने भनेपछि परम्परा बिग्रने भयो भनेर केही मिडियाले समाचार लेखेकामा गुनासो गर्नुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘पशुपतिमा पहिले जस्तै चाँदीकै जलहरी हाल्नुपर्ने भनेर आएको गुनासो गर्नेसँग म प्रश्न गर्न चाहन्छु, तपाईँको बुबा किसान भएर हलो जोत्नुहुन्थ्यो, तपाईँ किन पत्रकार बन्नुभयो ? किसान नै भएर खेतीपाती गरेको भए पो परम्परा बाँच्थ्यो । मेरो बुबा पनि किसान हुनुहुन्थ्यो तर म प्रधानमन्त्री भएँ । त्यसैले नयाँ र राम्रा कामका लागि परम्परा भत्काउनुपर्छ ।’

प्रधानमन्त्री ओलीले तराई–मधेशमा केही समूहले आफूलाई मधेशविरोधी भनेर प्रचार गरिएकामा पनि आपत्ति व्यक्त गर्नुभयो । ‘केपी ओलीलाई मधेशविरोधी भनेर प्रचार गर्नेहरूले ती मधेशप्रेमी मधेशका गरिब, विपन्न दलित समुदायका डोम, चमार, दुसाध र खत्वेका बच्चाबच्चीलाई काखमा बोक्न सक्नुहुन्छ ? सक्नुहुन्छ भने लु हेरौंँ त कत्तिको मधेशप्रेमीहरू हुनु हुँदोरहेछ ।’ 

प्रधानमन्त्रीले आफ्नो सरकारले तराई–मधेशमा बाटो, ढल र सिँचाइका आयोजना बनाएको बताउँदै खेतलाई सिञ्चित गर्न पहाड छेडेर कोशी ल्याइने जानकारी दिनुभयो । उहाँले पुराना दिन याद गर्दै भन्नुभयो, ‘यही ढल्केबरबाट जनकपुर पुग्नका लागि खाल्डाखुल्डी सडकबाट दुई घण्टा लाग्थ्यो भने अहिले जनकपुर–ढल्केबर ६ लेनको चिल्लो सडक बनेको छ ।’ प्रधानमन्त्री ओलीले अब केही दिनपछि जनकपुर–जयनगर रेल सञ्चालन गर्नका लागि आफै आउने बताउँदै भन्नुभयो, ‘तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठकै पालामा खरिद गरिएका दुई वटा रेल भित्रिसकेकाले अब छिट्टै सञ्चालन हुने तयारी हुँदैछ ।’

प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले ढल्केबर सबस्टेशन अहिले सञ्चालनमा रहेकामध्ये सबैभन्दा ठूलो भएको जानकारी दिनुभयो । सबस्टेशन जीआईएस प्रविधियुक्त स्वचालित छ । ‘पूर्व–पश्चिम र ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइन ढल्केबरमा चार्ज हुन्छ’, तिम्सिनाले भन्नुभयोे, ‘४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् पनि ढल्केबरमा चार्ज हुन्छ ।’

प्राधिकरणले सुख्खायाममा नेपालमा विद्युत् उत्पादन कम भएका अवस्थामा ढल्केबर स्टेशनमार्फत थप १०० मेगावाट विद्युत् ल्याउन सहज हुने बताएको छ । सात सय मेगावाटसम्म भारतबाट आयात गरिँदै आएकामा आवश्यक परे आठ सय मेगावाटसम्म विद्युत् आयात गर्न सकिने छ । चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी आएपछि आन्तरिकरूपमा खपत हुन नसकेको विद्युत् निर्यात गर्न पूर्वाधार तयार भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरण प्रसारण निर्देशनालयका अनुसार ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत भारतीय पक्षसँग भएको सम्झौताबमोजिम थप बिजुलीसमेत आयात गर्न सकिन्छ । यस्तै ढल्केबर–मुजफ्फपुर ४०० केभी प्रसारण लाइनबाट थप १०० मेगावाट बिजुली दिन भारत सहमत भएको छ । 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • राज कुमार लामा

    Feb. 1, 2021, 10:40 p.m.

    उखान सुन्न नपाइने भाे रेलकाे ड्राइभर भइदिए।😝😆

  •  0 Reply

तपाईको प्रतिक्रिया