वैदेशिक रोजगार व्यवसायीबाट भइरहेको ठगी नियन्त्रण गर्न माग गर्दै ज्ञापनपत्र

 माघ २१, २०७७ बुधबार १३:३१:३८

काठमाण्डौ – आप्रवासी कामदार हकहित संरक्षण केन्द्र धनुषाले वैदेशिक रोजगार व्यवसायीबाट भइरहेको ठगी नियन्त्रण गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाएको छ ।

वैदेशिक रोजगारीको नाममा म्यानपावर व्यवसायीले गरिरहेको ठगी नियन्त्रण गर्न वैदेशिक रोजगार विभागबाट भइरहेको अनुगमनलाई तिब्रता दिनुपर्ने माग गर्दै आप्रवासी कामदार हकहित संरक्षण केन्द्र धनुषा जिल्ला स्तरीय समितिले प्रमुख जिल्ला अधिकारीमार्फत विभाग, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र श्रम मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको हो ।

साथै समितिले फ्रि भिसा फ्रि टिकट पूर्ण रुपमा कार्यान्वयन हुन पर्ने, विदेशमा ज्यान गुमाएकाको शव तत्काल ल्याउने व्यवस्था गर्न, विदेशमा कोरोना महामारीका कारण अलपत्र परेका श्रमिकको उद्धारमा ढिलाई नगर्न पनि माग गरेको छ ।

वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका मृतकका परिवारलाई प्रदान गरिने बीमाबापतको रकम भुक्तानी दिने क्रममा पनि इच्छा बिपरित सबै प्रिमियम एकै पटकमा अशुल गरी पाँच लाखसम्मको बीमा गराइरहेको भन्दै समितिले बीमाको नाममा ठगी गर्ने काम गर्नेलाई तत्काल कारबाही गर्न पनि माग गरेको छ ।

आप्रवासी कामदार हकहित संरक्षण केन्द्र धनुषा जिल्ला स्तरीय समितिले जिल्लामा वैदेशिक रोजगारीको क्षेत्रलाई सुरक्षित, व्यवस्थित र अधिकतम लाभदायी बनाउन थप प्रयास गर्नुपर्ने आवश्यकता पनि औंल्याउँदै सरकार समक्ष ज्ञापनपत्र बुझाएको जनाएको छ । धनुषा जिल्ला वैदेशिक रोजगारीमा जानेको सङ्ख्याका आधारमा पहिलो नम्बरमा पर्छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया