म्यानमारमा सैनिक 'कू' : आङ सान सू चीविरुद्ध कैयाैँ आराेप

 माघ २१, २०७७ बुधबार १७:४२:५२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – म्यानमार प्रहरीले गएको सोमवार सैनिक ‘कू’ पछि निर्वाचित नागरिक नेतृ आङ सान सू चीविरुद्ध विभिन्न अभियोग दर्ता गरेको छ । 

प्रहरीको दस्तावेजअनुसार सू चीलाई आउँदो फेब्रुअरी १५ सम्म हिरासतमा राखिने छ । उनीविरुद्ध आयात–निर्यात कानुनलाई ताेडेको र गैरकानुनी रुपमा सञ्चार उपकरणहरु कब्जा गरेको आरोप लगाइएको छ । 

आङ सान सू ची अहिले कहाँ छिन् भन्नेबारेमा स्पष्ट नभए पनि उनलाई राजधानी ने पी तमा रहेको उनकै निवासमा राखिएको बताइएको छ । 

म्यानमारका राष्ट्रपति विन विन्टलाई पनि आरोप लगाइएको छ, दस्तावेजका अनुसार राष्ट्रपतिमाथि कोरोना महामारीका क्रममा सभामा प्रतिबन्ध लगाएको नियमको उल्लङ्घन गरेको आरोप छ । उनलाई पनि दुई हप्ताका लागि हिरासतमा राखिएको बताइएको छ । 

फेब्रुअरी १ को बिहानै सेनाले 'कू' गर्दै सत्ता हातमा लिएयता राष्ट्रपति वा सू चीलाई देख्न/सुन्न सकिएको छैन । 

सशस्त्र बलका प्रमुख मिन आङ ह्लाइङको नेतृत्वमा सैनिक 'कू' पछि एक वर्षका लागि सङ्कटकाल घोषणा गरिएको हो ।  

गएको नोभेम्बर महिनामा भएको चुनावमा सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) ले सरकार गठन गर्ने बहुमत प्राप्त गरेको थियो । यद्यपि सेनाले यो चुनावमा धाँधली भएको आरोप लगाउँदै आएको थियाे । 

नयाँ निर्वाचित तल्लो सदनको पहिलो बैठक पहिलो पटक गएकाे साेमवार बस्ने तयारी भएका बेला सेनाले नेतृ आङ सान सू कीलगायतका नेतालाई हिरासतमा लिएको थियाे । सेनाले यो बैठक स्थगित गर्न माग गर्दै आएको थियो । 

अन्तिम अपडेट: जेठ २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया