प्रधानमन्त्री ओलीकाे हाजिरी–जवाफ : ‘सुकुम्बासी समस्या समाधान हुन नदिने मुख्य नेता काे हाे ? माधव नेपाल’

 माघ २१, २०७७ बुधबार १९:१:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले सुकुम्बासी समाधान गर्ने सकारको प्रयासमा अवरोध सिर्जना गर्ने काम भएको बताउनुभएको छ । भूमिहीन सुकुम्बासी सङ्गठन केन्द्रीय कमिटीले बुधवार काठमाण्डौमा आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माधवकुमार नेपालले सुकुम्बासी समस्या समाधान गर्ने सकारको प्रयासमा बाधा पुर्‍याएको बताउनुभएको हो ।

माधवकुमार नेपाललाई भूमि व्यवस्था समाधान हुन नदिने नेताको संज्ञा दिँदै उहाँले पार्टी छोडेर गएपछि मात्रै आयोगले काम गर्न थालेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अघिल्लो पटक म प्रधानमन्त्री हुँदा समस्या समाधान गर्न खोजियो । माधव नेपालले आफ्नो एउटा समर्थक वकिललाई लगाएर मुद्दा लगाएर लच्चिएको लच्चियै काम हुन पाएन । भूमि व्यवस्था समाधान हुन नदिने । एउटा हाजिरी जवाफ प्रतियोगिता जस्तो चलाइ हालुँ । तपाईँहरूलाई सोध्छु– सुकुम्बासी समस्या समाधान हुन नदिने नेताहरूमध्येको मुख्य नेता को हो ? माधव नेपाल । बनेको आयोगलाई काम गर्न नदिएर एउटा नवलपरासीको सुकुम्बासी मानसिकताको वकिलले मुद्दा हालेर त्यो आयोगले काम गर्न पाएन र यसपटक फेरि हामीले आयोग बनाउनुपर्‍यो । यो आयोग बनाउन थालेको लगभग तीन वर्ष भयो । पार्टी छोडेर माधव नेपाल  ‘पाटी’ तिर गएपछि बल्ल आयोग पूरा भयो ।’

प्रधानमन्त्री ओलीले माधव नेपाल, नारायणकाजी श्रेष्ठ र घनश्याम भुसालले सरकारलाई काम गर्न नदिएको भन्दै उहाँहरूलाई  ‘छलफलवाला मान्छे’ को संज्ञा दिनुभयो ।

उहाँले भन्नुभयो, ‘माधव नेपाल र नारायणकाजी भन्ने दुई जना मान्छे पार्टीमा थिए । तिनीहरू सबै छलफल हुनुपर्छ भन्ने । जतिबेला पनि छलफल हुनुपर्छ भन्ने । छलफलवाला मान्छे मैले नेपालमा भेटाएको तीन जना मान्छे । एउटा माधव नेपाल, अर्को नारायणकाजी श्रेष्ठ, अर्को घनश्याम भुसाल । जहिले जेमा पनि छलफल हुनुपर्छ । छलफल गर्नुपर्छ । सुकुम्बासी आयोग बनाऔँ । छलफल गर्नुपर्छ । बनायो । किन बनाइयो ? छलफल हुनुपर्छ । पूर्णता दिउँ । छलफल हुनुपर्छ । प्रतिनिधि मागौँ । होइन छलफल हुनुपर्छ । छलफलवाला मान्छेहरूले पार्टी छोडे पाटीतिर लागे । तिनीहरूको पाटीको बास हुन थालेपछि आयोग बन्यो । पूर्णता पाएको छ । काम बन्छ ।’ 

उहाँले पार्टीमा शुद्धीकरण आवश्यक रहेको र शुद्धीकरण आवश्यक रहेकाहरू आफै किनारा लागेको बताउनुभयो । पार्टी छोडेर पाटीमा गएकाहरूले आफ्नो अभिष्ट पूरा गर्न नेपाल बन्द गरेर नागरिकलाई दुःख दिने काम गरेको ओलीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘उनीहरू किन छटपटाएका छन् ? नेपाल बन्द रे ? नागरिकले के बिगारेको थियो र ? नागरिकलाई किन दुःख दिनुपर्‍यो नेपाल बन्द गरेर ? पार्टी छोडेर आफूहरू पाटीमा लाग्छन् । अनि बन्द गरेर नागरिकलाई दुःख दिने ? बन्द भन्या के ? हिँडडुल गर्न नपाउने । बन्द भन्या के ? पसल खोल्न नपाउने । किन्न जान नपाउने । पढ्न जान नपाउने । बन्द भनेको नागरिकलाई दुःख दिने । त्यो किन गर्नुपरेको छ ? के का लागि गर्नुपर्‍यो बन्द ?’ 

आफूलाई कम्युनिस्ट र क्रान्तिकारी भन्नेहरू नै आफ्नै पार्टीलाई धुलो बनाएर अरूसँग घुँडा टेक्न पुगेको टिप्प्पणी प्रधानमन्त्रीले गर्नुभयो । उहाँले भन्नुभयो, ‘अस्ति माधवकुमार नेपाल शेरबहादुर देउवाजीकोमा गएका थिए । रामका अगाडि हनुमान घुँडा टेकेर बसे जसरी बसेका थिए । अब दुई वर्षको प्रधानमन्त्री तपाईँ नै हो । तपाईँलाई नै दिन्छौँ । दुई वर्षको प्रधानमन्त्री खानुहोस् । लेखेर दिन्छौँ क्या लेखेर दिन्छौँ । सही गरेर दिन्छौँ । अनि क्रान्तिका गफ गरेछन् बाहिर निस्केर । कम्युनिस्ट पार्टी धुलो पार्न खोज्ने अनि अन्त गएर घुँडा टेकेर, प्रणाम गरेर, लिखित दिन्छौँ भनेर, ल्याप्चे लगाएर क्रान्तिकारिताको गफ दिने ? उहाँहरू जे हो त्यही प्रकट हुँदैछ । जे हो त्यही देखिँदै छ । मखुण्डो खुइलियो । मौन भएको थियो मखुण्डो खुइलियो ।’ 

प्रधानमन्त्रीले शुक्रबारको सभामा आउन सबैलाई निम्तो पनि दिनुभयो । उहाँले भन्नुभयो, ‘निम्ता गर्दा चु लेख्ने चलन हुन्छ नि । चुले निम्तो होइन । गा लेखेको छ । टो लेखेको छ । वा लेखेको छ । अथवा गावै निम्तो, टोलै निम्तो वडै निम्तो । त्यसै हिसाबले आउनुहोला । पर्सी हाम्रो भेट हुनेछ । बाँकी कुरा त्यही राख्ने छु ।’ 

केही मान्छेहरू सरकारलाई असफल बनाउन लागि परे पनि सरकार आफ्नो उद्देश्यमा कटिबद्ध रहेको उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘सरकार आफ्नो उद्देश्यमा फेल हुन तयार छैन । फेल गर्न त लाग्छन् केही मान्छेहरू । छलफल गर्नुपर्छ भन्ने मान्छेहरू । उनीहरूलाई कुरा फिट्नमा आनन्द छ । काम गर्न होइन । काम गर्न नदिने कुरा फिटेर बस्नुपर्छ ।’ 

उहाँले सुकुम्बासी समस्या समाधानको विषय मूलभूत विषय भएको भन्दै सरकार समस्या समाधान गर्ने काममा लागेको स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले सम्पूर्ण नेपाली नागरिकको राष्ट्रिय आकाङ्क्षा ‘सम्मृद्ध नेपाल सुखी नेपाली’ रहेको र त्यो आकाङ्क्षा पूरा गर्न सबै नेपाली समृद्ध हुनुपर्ने र त्यसको हिस्सेदार सबैले प्राप्त गर्नुपर्ने बताउनुभयो । उहाँले सुख प्राप्तिका सबै मापदण्ड सबै नेपाली समक्ष पुगेमात्रै सबै नेपाली सुखी हुन सक्ने बताउनुभयो । हरेक व्यक्तिले सम्मानित, सुरक्षित र भयरहित जीवन बाँच्न पाउने अधिकार प्राप्त भएमात्रै सुखको अवस्था हुने भन्दै उहाँले सुकुम्बासी, भूमिहीन दलित, कमैयालगायतका समस्याको समाधान नभइकन सरकारको उद्देश्य पूरा नहुने भएकाले सबै प्रकारका गरिबी हटाउने प्रयासमा सरकार लागेको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले अव्यवस्थित बसोबास, सुकुम्बासीलगायतका समस्या समाधान गर्न भूमि व्यवस्था आयोग निर्माण गरेको र त्यो आयोगले देशव्यापी रूपमा पूर्णता पाइसकेकाले छिटै भूमिसम्बन्धी समस्याको अन्त्य हुने प्रतिबद्धता जनाउनुभयो ।   

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया