देशभर आमहड्तालको प्रभाव : न पूरै बन्द, न पूरै खुला

 माघ २२, २०७७ बिहिबार १२:२७:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेकपाको प्रचण्ड-नेपाल समूहले बुधवार आह्वान गरेको आमहड्तालको प्रभाव सहरी क्षेत्रमा परेको छ । ग्रामिण क्षेत्रमा निर्बाधरुपमा गाडी चलेका छन् भने सहरी क्षेत्रमा भने कम मात्रै सार्वजनिक गाडी चलेका छन् ।

काठमाण्डौसहित मुख्य सहरमा गाडी कम चलेका छन् । पसल पनि पूरै खुलेका छैनन् । काठमाण्डौको चक्रपथसहित विभिन्न रुटमा सार्वजनिक गाडी केही चलेका छन् । तर अघिल्ला दिनहरुमा जस्तो धेरै गाडी नचल्दा यात्रुलाई सास्ती भएको छ । निजी गाडी र मोटरसाइकल पनि कम चलेका छन् । धेरै शिक्षण संस्था बन्द छन् । परीक्षार्थी हिँडेरै परीक्षा केन्द्रमा गएका छन् ।

प्रदेश १ को विराटनगर, धरानलगायतका ठाउँमा शिक्षण संस्था र यातायातबाहेक अरु क्षेत्रहरु खुलेका छन् । आन्दोलनकर्ताहरु सडकमा केही मात्रामा देखिए पनि विरोध प्रदर्शनहरु धेरै नभएको प्रहरीले जनाएको छ । प्रदेश १ मा केही उद्योग तथा कलकारखानाहरु खुलेका छन् । 

प्रदेश २ मा पनि कार्यकर्ताहरु विरोधका कार्यक्रमसहित सडकमा देखिएका छैनन् । प्रदेश २ को सर्लाहीमा केही गाडीहरु चलिरहेका छन् भने पसलहरु पनि केही मात्रामा खुलेका छन् । प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ ।

वाग्मती प्रदेशको राजधानी हेटौंडामा प्रदर्शनकारीहरुले सडकमा प्रदर्शन गरेका छन् । सडक, विद्यालय, उद्योग कलकारखानाहरु सबै बन्द रहेका छन् । धादिङको राजमार्ग क्षेत्रमा गाडी नचले पनि ग्रामिण क्षेत्रमा गाडी चलेका छन् । अरु जिल्लाका पनि ग्रामिण क्षेत्रमा बन्दको प्रभाव परेको छैन ।

गण्डकी प्रदेशको पोखराबाट एकजना पक्राउ परेका छन् । अहिले अवस्था सामान्य रहेको र केही दुई पाङ्ग्रे गाडीहरु चलेका प्रहरीले जनाएको छ । लुम्बिनी प्रदेशको बुटवल, कपिलवस्तुलगायतका ठाउँमा बन्दको आंशिक प्रभाव परेको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पनि अहिले अवस्था सामान्य छ । सडकमा गाडी कम चलेका छन् । सुदूरपश्चिम प्रदेशको कञ्चनपुरलगायत जिल्लाको अवस्था पनि अहिले सामान्य नै रहेको छ । राजमार्गमा गाडी चलेका छैनन् भने पसल, उद्योग तथा कलकारखानाहरु पनि खुलेका छैनन् । 

डडेल्धुरामा बन्दको प्रभाव सामान्य रहेको छ । जिल्लामा बिहानैदेखि बजार व्यवसाय, गाडी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहानैदेखि प्रहरीको स्कर्टिङमा गाडी चलेको छ ।
यस्तै चितवनमा बन्दकर्ताले चारवटा ट्रकमा तोडफोड गरेका छन् ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया