म्यानमारको सैन्य ‘कू’ विफल पार्न यूएन महासचिवकाे आह्वान

 माघ २२, २०७७ बिहीबार १४:२८:४० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – संयुक्त राष्ट्र सङ्घ (यूएन) का महासचिव एन्टोनियो गुटेरसले गएको सोमवार म्यानमार भएको ‘कू’ विफल पार्न विश्व समुदायलाई आह्वान गरेका छन् । महासचिव गुटेरेसले म्यानमारमा संवैधानिक व्यवस्था पुनर्स्थापित गर्न आह्वान गरेका हुन् । उनले यो विषयलाई लिएर सुरक्षा परिषदमा एकता हुने आशा रहेको बताएका छन् ।  

‘यो कू विफल बनाउन म्यानमारमाथि पर्याप्त दबाब दिनका लागि अन्तर्राष्ट्रिय समुदायका प्रमुखहरूलाई परिचालन गर्न आवश्यक सबै हामी गर्नेछौँ’, उनले भनेका छन्, ‘जनचाहना र चुनावको परिणामलाई उल्ट्याउनु पूर्णरूपमा अस्वीकार्य छ । म आशा गर्छु कि म्यानमारको सेनालाई देश चलाउने तरिका यो होइन भनेर बुझाउन सम्भव छ ।’   
  
सेनाले सत्ता हातमा लिनुअघि निर्वाचित नेत्री आङ सान सू चीलाई गिरफ्तार गरेको थियो । म्यानमारको प्रहरीले सू चीविरुद्ध विभिन्न अभियोग लगाएको छ र फेब्रुअरी १५ तारिखसम्म उनी हिरासतमा रहनेछिन् । सेनाले सत्ता हातमा लिएपछि सू ची र राष्ट्रपति विन मिन्टका तर्फबाट कुनै किसिमका प्रतिक्रियाहरू आएका छैनन्।  

म्यानमारमा सेनाद्वारा एक वर्षका लागि सङ्कटकाल लागू गरेको र सेनाले निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गरिने बताएको छ । गएको नोभेम्बरमा भएको चुनावमा धाँधली भएको आरोप सेनाले लगाएको छ । त्यस चुनावमा सू चीको दल नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) ले अत्यधिक मत ल्याएको थियो । गएको नोभेम्बरको चुनावबाट संसद्को तल्लो र माथिल्लो दुवै सदनका कुल चा सय ७६ स्थानमध्ये सू चीको दल एनएलडीले तीन सय ९६ स्थान जितेको छ । सन् २००८ को संविधानबमोजिम सेनालाई संसद्को कुल स्थानको २५ प्रतिशत छुट्याइएको छ । साथै कतिपय महत्त्वपूर्ण मन्त्रालय पनि सेनालाई नै दिइएको छ ।

सेनाले फेसबुकलाई बन्द गर्न निर्देशन दिएको पनि समाचारमा जनाइएको छ । सामाजिक सञ्जालहरूले स्थायित्वको पुनर्स्थापनामा बाधा पुर्‍याएको भन्दै सेनाले त्यस्तो निर्देशन दिएको हो । बिहीवार प्रयोगकर्ताहरूले सामाजिक सञ्जालमा पहुँच नभएको बताएका थिए । ‘कू’ को विपक्षमा बनाइएको फेसबुक पेजमा दशौँ हजार लाइकहरू आएका छन् ।  

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया