‘प्रचण्ड–माधव समूह कम्युनिस्ट आन्दोलनका सबैभन्दा ठूला विरोधी’

 माघ २२, २०७७ बिहिबार १७:५६:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट आन्दोलनका सबैभन्दा ठूला विरोधी प्रचण्ड–माधव समूह भएको बताउनुभएको छ ।

बिहीवार काठमाण्डौमा आयोजित अखिल नेपाल किसान महासङ्घको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कम्युनिस्टकै खोल ओढेर कम्युनिस्ट आन्दोलनको विरोध गर्ने समूहले विगतमा पनि कम्युनिस्ट आन्दोलनलाई पटक–पटक बदनाम गर्ने काम गरेको दाबी गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘मान्छे बिग्रियो भने कहाँ पुग्छ ? आज कम्युनिस्ट आन्दोलनको सबैभन्दा ठूलो विरोधी को छ भने कम्युनिस्टकै बर्को ओढेर उहाँ बाटामा बसेको छ । कम्युनिस्टकै बर्को ओढेर बाटामा बस्ने र कम्युनिस्ट आन्दोलनकै सबभन्दा बढी विरोधी । लोकतन्त्र, कम्युनिस्ट आन्दोलन, कम्युनिस्ट एकताको विरोधी सबभन्दा को छ भन्दाखेरि कम्युनिस्टकै खोल ओढेकाहरू । विगतमा पनि दुःख दिए । विगतका आन्दोलनहरूलाई पटक–पटक बदनाम गराए वा ध्वस्त पारे । नागरिकले सुन्न नसक्ने गरि कम्युनिस्ट आन्दोलनलाई बदनाम गराए । कम्युनिस्ट आन्दोलन भनेको निर्दयी, हृदयहीन, मानवता नभएको स्वार्थका लागि जे पनि गर्न हुन्छ भन्ने खालको प्रभाव दिने गरि उपद्रो मच्चाए ।’ 

माधव नेपालप्रति आक्रामक

प्रधानमन्त्री ओलीले बिहीवार पनि भूमि व्यवस्था र सुकुम्बासी समस्या समाधान गर्ने आफ्नो नेतृत्वको सरकारको अभियानलाई नेता माधव नेपालले अघि बढ्न नदिएको प्रसङ्ग दोहोर्‍याउनुभयो ।  

उहाँले भन्नुभयो, ‘यस पटक पनि उहाँ कपाल लुछीलुछी, छाती पिटी पिटी किन रुनुभएको छ ? आयोग बन्यो, अब किसानको केही हुने भो, उहाँलाई पिर परेको छ । उहाँलाई कृषि के हो ? हलो त समातेको छैन कहिल्यै । के बुझ्नु ? नजोति खान पाएपछि किन बुझ्नु ?’ 

आफ्नै कार्यकर्ता नियुक्त गर्दा नि माधव नेपालले आफ्ना पक्षधरको कुरा उठाएर अवरोध सिर्जना गर्ने गरेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘माधव नेपाल हो जसले किसानका समस्या समाधान गर्न दलबहादुर आफ्नै मन्त्री अनि शारदा सुवेदीलाई मेरो होइन भन्नुभयो । पछिल्लो समय पनि उहाँले दिएको दुःख त्यही हो । मेरा मान्छे, मेरा पक्षधर । यस पटक पनि उहाँहरूले खुब रोक्न खोज्नुभयो । पर्नुभो फेला पद्मा अर्यालको । देवी ज्ञवाली कसको मान्छे ? मेरो मान्छे हो ? मेरो त जात, गोत्र ठेगाना केही पनि मिल्दैन । पार्टीको मान्छे हो ।’  

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया