सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कसैले तलमाथि गर्न सक्दैन : प्रधानमन्त्री

 माघ २३, २०७७ शुक्रबार १६:१९:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय प्रणालीमा प्रधानमन्त्रीले काम गर्न नदिने अवस्था आयो भने संसद् विघटन गर्न सक्ने भन्दै संसद् विघटन गर्ने निर्णयको बचाउ गर्नुभएकाे छ । बेलायतको उदाहरण दिँदै उहाँले काम गर्न नदिएपछि प्रधानमन्त्रीले संसद् विघटन गरेर ताजा जनादेशमा जान सक्ने जिकिर गर्नुभयो । 

शुक्रबार वाग्मती प्रदेश कमिटीले काठमाण्डौको दरबारमार्गको नारायणहिटी दरबार अगाडि गरेको जनसभालाई सम्बोधन गर्दै ओलीले संसद् विघटन गर्न सक्ने प्रधानमन्त्रीमा निहित अधिकारमा प्रचण्ड–माधव समूहले बलजफती बहस चलाएर प्रतिगमन भनेको टिप्पणी पनि उहाँले गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘देशव्यापी रूपमा एउटा बहस भइरहेको छ । बलजफती यो बहस निकालिएको छ । संसद् विघटनको सिफारिस, संसद् विघटन संविधानसम्मत छ कि छैन ? भनेर बहस निकालिएको छ । म भन्न चाहन्छु संसदीय प्रणालीमा प्रधानमन्त्रीले काम गर्न नदिने अवस्था भयो भने, काम गर्न नपाउने अवस्था भयो भने संसद् विघटन गर्छ । बेलायतमा लिखित संविधान छैन । अथवा त्यहाँ प्रधानमन्त्रीले संसद् विघटन गर्ने लेखेको छैन तर प्रधानमन्त्रीले अस्ति भर्खर संसद् विघटन गरेर चुनाव गराउनुभयो । यसरी प्रधानमन्त्रीले संसद् विघटन गर्छ काम गर्न दिइएन भने । हाम्रै बलमा संसदमा आएर हामीलाई नै काम गर्न नदिने, व्यवधान गर्ने अनि सरकारले काम गरेन भनेर आलोचना गर्ने ? त्यस प्रकारको प्रवृत्तिको जवाफ चुनावबाट खोज्नुपर्दछ । नागरिकको ताजा जनादेशबाट खोज्नुपर्दछ ।’ 

प्रचण्ड–माधव समूहले संवैधानिक नियुक्तिमा अवरोध गरेको दाबी पनि प्रधानमन्त्रीले गर्नुभयो । उहाँले लोकतन्त्रलाई ठिक ढङ्गले चल्न नदिनेहरू गएपछि सबै कुरा ठिक भएको भन्दै अब देश स्थिरतातर्फ उन्मुख भएको बताउनुभयो । उहाँले कार्यकर्ता माझ चुनावी नारा पनि लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘अस्थिरतातर्फ होइन, चुनावतर्फ जाउँ । अस्थिरता होइन, चुनाव चाहियो । नागरिक के भन्छ, चुनाव ।’ 

सभामा  ‘राजतन्त्र फर्किएको घोषण गर्छ’ भन्दै हल्ला फैलाउने काम भएको भन्दै प्रधानमन्त्री ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कसैले तलमाथि गर्न नसक्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले देशभरको कालोपत्रे सडक, चाँदनी–दोधारा सिँचाइ, डुबान नियन्त्रण, हुलाकी राजमार्ग, पूर्व–पश्चिम रेललगायत क्षेत्रमा सरकारले उच्च महत्त्वका साथ काम गरेको भन्दै फेहरिस्त नै प्रस्तुत गर्नुभयो । उहाँले कोभिडविरुद्ध खोप अभियान चलेको उल्लेख गर्दै कोभिड अन्त्य नहुने समयसम्म खोप अभियान सञ्चालन गरिराख्ने जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया