आम हड्तालमा भएकाे नाेक्सानकाे क्षतिपूर्ति सरकारले बेहाेर्छ : उपप्रधानमन्त्री पाेखरेल

 माघ २३, २०७७ शुक्रबार १६:३२:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – उपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे केपी शर्मा ओली पक्षका सचिवालय सदस्य ईश्वर पोखरेलले नेकपा प्रचण्ड–माधव पक्षले बिहीवार गरेको आम हड्तालमा भएको क्षतिको सरकारले क्षतिपूर्ति गर्ने बताउनुभएको छ ।

शुक्रबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षले काठमाण्डाैमा आयोजना गरेको जनसभामा बोल्दै उपप्रधानमन्त्री पोखरेलले बिहीवारको आम हड्तालमा भएको क्षतिको क्षतिपूर्ति सरकारले गर्ने बताउनुभएको हो । काठमाण्डाैमा तोडफोड भएको ट्याक्सीको क्षतिपूर्ति सरकारले गर्ने उहाँको भनाइ छ । उहाँले नागरिकलाई दुःख दिने, लुट्ने लगायतको क्षतिको पनि सरकारले क्षतिपूर्ति गर्ने पनि बताउनुभयो ।

उपप्रधानमन्त्री पोखरेलले आफूहरूको लडाइँ अराजकताविरुद्ध भएको बताउनुभयो । आफूहरू देशलाई आर्थिक समृद्धितर्फ जान नचाहनेहरूको विरुद्ध, देशलाई अस्थिरतातर्फ लैजाने दुष्प्रयासकाे विरुद्ध लडाइँ लडिरहेकोले लडाइँलाई कमजोर हुन नदिने उहाँको भनाइ छ ।

उपप्रधानमन्त्री पोखरेलले नेकपाको आधिकारिकता आफूहरूले पाउने दाबी गर्नुभयो । केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाको आधिकारिकतालाई कसैले तोड्न नसक्ने उहाँको भनाइ छ । ओलीले नेतृत्व गरेको सूर्य चिह्न लिएर नागरिककाे ताजा जनमतमा जाने पनि उहाँको भनाइ छ ।

उपप्रधानमन्त्री पोखरेलले आजको ठाउँमा आइपुग्न नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विगतदेखिकै अवसरवाद जिम्मेवार रहेको बताउनुभयो । जतिसुकै छलछाम र षड्यन्त्र गरे पनि आर्थिक समृद्धिको यात्रालाई कमजोर बनाउन नसक्ने उहाँको भनाइ छ । 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया