हावा मडारिएर चीनतर्फ लागेपछि पानी पर्ने सम्भावना घट्यो

 माघ २३, २०७७ शुक्रबार १६:५३:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डाै – नेपालमा प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको हावा मडारिएर हिमाली क्षेत्र हुँदै चीनतर्फ लागेपछि नेपालमा ठूलो पानी पर्ने सम्भावना घटेको छ ।

लामो समयदेखि पानी नपर्दा सुख्खा बढेका बेला पश्चिमी न्यून चापीय प्रणालीले नेपालमा पानी पार्ने आशा बढेको भए पनि हावा चीनतर्फ मडारिएकाले पानी पर्ने सम्भावना कम भएको मौसमविद् निराजन सापकोटाले बताउनुभयो ।

अहिले देशभरको उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि मध्यम खालको हिमपात र काठमाण्डौ उपत्यकासहित पश्चिम पहाडमा सामान्य पानी परेको छ । हावा हिमाली क्षेत्रतर्फ केन्द्रित भएकाले शुक्रवार (आज) राति पनि हिमपातको सम्भावना रहेको मौसमविद् सापकोटाले बताउनुभयो । तर पहाडी क्षेत्रमा भने शुक्रवार पश्चिमबाट मौसम खुल्दै आएको छ ।

शुक्रवार बेलुकीबाट पश्चिम हुँदै काठमाण्डौसम्मको मौसम खुल्ने र शनिवार (भोलि) काठमाण्डौ उपत्यकाबाट पूर्व प्रदेश १ को पहाडी क्षेत्रमा बदली भइ सामान्य पानी पर्ने उहाँले बताउनुभयो । तर पूर्वमा पनि पानी सामान्यमात्र पर्ने र शनिवार बेलुकाबाट मौसम खुल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले तराईमा पनि सामान्य बादल लागेको छ । तर शुक्रवार पश्चिम पहाडबाट मौसम खुल्दै शनिवार बेलुकासम्म तराईका सबै ठाउँमा मौसम खुल्ने मौसमविद् सापकोटाले बताउनुभयो । हिमाली क्षेत्रमा हिमपात भए पनि पहाड तथा तराईमा वर्षा भने सोचे जति नहुने उहाँकाे भनाइ छ ।  

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया