भागरथीको हत्यापछि गाउँ नै शोकमा, अनुसन्धानमा कमी कमजोरी नहोस् भनेर हामी संवेदनशील छौँ - प्रहरी

 माघ २५, २०७७ आइतबार ११:२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

बैतडी - बैतडीकी १७ वर्षकी भागरथी भट्टको हत्याबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता वसन्तबहादुर कुँवरले गहिराइमा पुगेर अनुसन्धान भइरहेको बताउनुभयो । उहाँले हत्याको विभिन्न कोणबाट अनुसन्धान थालिएकाले अहिले नै अनुसन्धानको विषयमा जानकारी खुलाउन नमिल्ने बताउनुभयो । 

उहाँले दोषीलाई कारबाही हुनेमा ढुक्क हुन पनि आग्रह गर्नु भएको छ । ‘हामी अनुसन्धानको गहिराइमा पुग्छौँ, कुनै कमीकमजोरी हुन नदिन संवेदनशील भएर काम गरिरहेका छौँ, जिल्ला प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालयसँगको समन्वयमा छानबिन भइरहेको छ' उहाँले भन्नुभयो । 

प्रहरीले भागरथीको हत्या परिचित व्यक्तिले नै गरेको हुन सक्ने आशङ्का गरेको छ । तर, अनुसन्धानमा बाधा पुग्ने भन्दै यसबारे थप जानकारी केही दिएको छैन । भागरथीको शवसँगै भेटिएको मोबाइल र त्यसको कल डिटेलबारे अनुसन्धान गर्न विशेष टोली खटिएको छ भने नजिकका आफन्त र साथीभाइसँग पनि प्रहरीले सोधपुछ थालेको छ । 

बैतडीको दोगडा-केदार गाउँपालिका-७ की भागरथीको गएको बिहीवार शव भेटिएको थियो । बुधवार विद्यालय गएकी भागरथी घर नफर्केपछि खोजी गर्ने क्रममा भोलिपल्ट जंगलमा शव भेटिएको थियो । उहाँको बलात्कारपछि हत्या भएको हुनसक्ने अनुमान गरिएको छ । कपडा च्यातिएको, शरीरमा नीलडाम र घाउ भएको अवस्थामा भागरथीको शव भेटिएको थियो । 

भागरथीका आफन्त तथा परिवारले न्यायको लागि गुहार मागेका छन् । भागरथीका बुबाको दुई महिनाअघि निधन भएकाले परिवारमा थप पीडा परेको छ । भागरथीको हत्यापछि गाउँ नै अहिले शोकमा डुबेको छ । 

बलात्कार र हत्याको विरोधमा आवाज उठ्दै आए पनि यस्ता घटना रोकिएका छैनन् । अझै कतिपय घटनामा त पीडितले न्याय नै पाउन सकेका छैनन् । यस अघि २०७५ साल साउन १० गते कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । तर, लामो समयदेखि यो घटनाको अनुसन्धान चले पनि दोषी पत्ता लागेको छैन । यसले  प्रहरी प्रशासनमाथि प्रश्न समेत उठेको छ ।


 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया