उत्तराखण्ड : हिमताल फुट्दा जलविद्युत् आयोजना प्रभावित, ‘१५० मजदुर काम गरिरहेका थिए’

 माघ २५, २०७७ आइतबार १५:२१:१ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – उत्तराखण्डको चमोली जिल्लाको हिमताल फुट्दा धौलीगङ्गा नदीमा बाढी आएको छ । नदीका कैयौँ तटबन्ध फुटेपछि बाढीको अलर्ट जारी गरिएको छ । 

हिमताल फुट्दा ऋषिगङ्गा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार यस आयोजनामा काम गरिरहेका एक सय ५० मजदुर बेपत्ता भएको आशङ्का गरिएको छ । 

उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले ट्वीट गर्दै आफू घटनास्थलतर्फ जाँदै गरेको बताउनुभएको छ । उहाँले ट्वीट गर्दै अफवाद नफैलाउन ध्यान दिन र पुरानो भिडियो शेयर नगर्न आग्रह गर्नुभएको छ । 

भारतका गृह मन्त्री अमित शाहले राहत र उद्धारका लागि राष्ट्रिय आपत् प्रतिक्रिया बल (एनडीआरएफ) को टोली पठाइएको जानकारी दिनुभएको छ ।  

हिमताल फुटेपछिको नदीमा आएको बाढी विभिन्न गाउँमा पसेको र घरहरू क्षति गरेको बताइएकाे छ । हिमताल फुटेको सूचना पाएपछि प्रहरीसहित जिल्ला प्रशासन कार्यालयको टोली पनि घटनास्थलतर्फ गएको बीबीसीले जनाएको छ ।

उत्तराखण्डका प्रहरी महानिर्देशक (डीजीपी) अशोक कुमारले भन्नुभयो, ‘हिमतालले ऋषि गङ्गा जलविद्युत् आयोजना पूर्णरुपमा ध्वस्त गरिदिएको छ । त्यहाँ ५० जनाभन्दा धेरै मजदुर काम गर्दथे, उनीहरु पनि हताहत भएको सम्भावना छ । हाम्रो टोली त्यहाँ पुगेको छ । बाढीसँगै आएको माटोमा पुरिएका मानिसहरुको खोजी भइरहेको छ ।’ 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया