भागरथी हत्या प्रकरण : प्रहरीको अनुसन्धान तीव्र, दोषी पत्ता नलागेसम्म आफन्तले शव नबुझ्ने

 माघ २६, २०७७ सोमबार ७:२७:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बैतडीको दोगडाकेदार गाउँपालिकाकी १७ वर्षीया भागरथी भट्टको हत्या अनुसन्धान तीव्ररुपमा अघि बढाइएको प्रहरीले जनाएको छ । 

अनुसन्धानका लागि प्रहरीले सम्पूर्ण जनशक्ति परिचालन गरेको बताएको छ । घटना विवरण बुझ्न सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीसमेत हिजो बैतडी पुग्नुभएको छ । 

तालिमप्राप्त कुकुरले भागरथीको हत्या भएको जङ्गल क्षेत्र पूरै ‘सर्च’ गरेको प्रहरीले छ । प्रहरीले भागरथीका आफन्तसँग सोधपुछ गर्नुका साथै शङ्कास्पद व्यक्तिमाथि निगरानी बढाएर सूक्ष्म अध्ययन गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । 

यसअघि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे नेतृत्वको अनुसन्धान टोली घटनास्थल पुगेर अध्ययन गरिरहेको  छ । यसका साथै घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरोका डीएसपी पञ्चकुमार बाँखुसहित प्राविधिक टिम परिचालन भएको छ । 

किशोरीले प्रयोग गरिरहेको मोबाइल पनि घटनास्थलमै प्राप्त भएकाले मोबाइलबाट धेरै कुरा पत्ता लाग्ने प्रहरीको दाबी छ । हत्याको विरोधमा बैतडीमा शैक्षिक हड्ताल गरिएको छ ।  हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै प्रदर्शन भएको छ । 

दोषी पक्राउ नपरेसम्म शव नबुझ्ने परिवारले अडान लिएको छ । गएको बुधवार विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा बिहीवार घर नजिकै रहेको लवलेक जङ्गलमा हत्या गरेको अवस्थामा शव फेला परेको थियो। मृतक किशोरीको शनिवार शव परीक्षण सम्पन्न भए पनि रिपोर्ट आउन बाँकी  छ ।     

जिल्लाका राजनीतिक दलले हत्यारालाई पत्ता लगाइ कानुनी दायरामा ल्याउन माग गरेका छन् । यस्तै राष्ट्रिय मानव अधिकार आयोगले बैतडी घटनाको तत्काल निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न गरी दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेको छ ।

बैतडीलगायत विभिन्न पहाडी तथा हिमाली जिल्लामा विद्यार्थीले धेरै टाढा पैदलै भौगोलिक दूरी पार गरी शिक्षा हासिल गर्नुपर्ने बाध्यता रहेको अवस्थामा शान्तिसुरक्षाको अभावमा हुने यस प्रकारका घटनाले बालबालिकाको बाँच्न पाउने, संरक्षित हुन पाउने र बालविकासको अधिकारमा अवरोध उत्पन्न भएर बाल मनोविज्ञानमा नकारात्मक असर परेको देखिएको आयोगले जनाएको छ । 

राष्ट्रिय महिला आयोगले पनि घटनाका दोषीलाई कानुनको दायरामा ल्याई घटनाबारे निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न आग्रह गरेको छ । आउँदाे दिनमा यस प्रकारका घटना दोहोरिन नदिनेतर्फ सचेत रहँदै निष्पक्ष र प्रभावकारी अनुसन्धानमार्फत घटनाको सत्यतथ्य उजागर गर्न आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।

दोषीमाथि कानुनबमोजिम कारबाही गर्न र पीडित परिवारको सुरक्षा तथा न्यायमा पहुँच पुर्याउन आयोगले आग्रह गरेको छ ।
 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया