पहिलो चरणमा किन सबैले खोप लगाएनन् ?

 माघ २६, २०७७ सोमबार ८:१८:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले पहिलो चरणमा ४ लाख ३० हजार जनालाई कोरोनाविरुद्धको खोप लगाउने भनेको थियो । तर शनिवार पहिलो चरणको खोप अभियान सकिँदा जम्मा १ लाख ८४ हजार ८ सय ५७  जनाले मात्र खोप लगाएको सरकारी तथ्याङ्क छ ।   

सरकारले सुरक्षामा विश्वास दिलाउन नसकेकाले डाक्टर र स्वास्थ्यकर्मी नै खोप लगाउन डराएका धेरैको आशङ्का छ । तर विस्तृत तथ्याङ्क आउन नसकेकाले खोप लगाउनेको संख्यामा कमी आएको हुनसक्ने स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक तारानाथ पोख्रेल बताउनुहुन्छ ।  

उहाँ भन्नुहुन्छ - ‘पहिलो चरणको खोप, त्यसमाथि विज्ञको संलग्नतामा जिल्लामा मात्र राखियो । त्यसैले पनि गाउँ-गाउँका स्वास्थ्यकर्मी तथा डाक्टरको पहुँचमा खोप पुगेन । र तथ्याङ्कमा पनि कम देखियो ।’ छोटो समयको तयारीमा यतिको सङ्ख्यामा खोप लगाउनु राम्रै भएको पोख्रेल बताउनुहुन्छ  । पहुँच भएका ठाउँका स्वास्थ्यकर्मीको राम्रै सक्रियता रहेको उहाँ दाबी गर्नुहुन्छ । 

निर्देशक डा. पोख्रेल भन्नुहुन्छ, ‘४ लाख ३० हजारसम्मलाई व्यवस्थापन गर्ने भन्ने नीतिगत निर्णय थियो । तर अग्रपंक्तिमा खटिने कति थिए भन्ने यकिन तथ्याङ्क भएन । छुटेकालाई फेरि खोप लगाउने तयारी भइरहेको छ ।’ 

नेपाल मेडिकल काउन्सिलमा दर्ता भएकामध्ये, कोही रिटायर्ड, कोही विदेशमा भएकाले भनेअनुसार भनेको संख्याभन्दा कमले खोप लगाएको हुन सक्ने उहाँको भनाइ छ । हाम्रो देशमा पहिलो चरणमा लगाइएको खोप विश्व बजारमा नै दुर्लभ खोप हो । भारत सरकारले हामीलाई सहयोगको रुपमा उपलब्ध गरायो । खोपको  दुरुपयोग नहोस् भनेर मन्त्रालयले एकदमै सावधानी अपनाएकाले पनि तथ्याङ्कमा थोरै देखिएको उहाँले बताउनुभयो ।  

‘नडराइ लगाउनुहोस्, खोप सुरक्षित छ’

एकदमै परिस्कृत भएर आएको खोप भएकाले नडराइकन खोप लगाउन डा. पोख्रेल सबैमा आग्रह गर्नुहुन्छ ।  यो खोप विश्वका धेरै देशले लगाइसकेका छन् । नेपालमा महामारीको जोखिम टरिसकेको छैन । कोरोनाको दोस्रो लहर आउने चेतावनी विज्ञले पनि दिइरहेका छन् । कोरोनाकै परिवर्तित स्वरुप पनि देखिएको छ ।

यस्तो अवस्थामा उपलब्ध भएसम्म कोरोनाको खोप लगाउँदा राम्रो हुने पोख्रेलको भनाइ छ । खोप लगाउने अहिले राम्रो मौका भएकाले आफू, परिवार र समाजलाई जोगाउनका लागि पनि उपलब्ध भएसम्म खोप लगाउनै पर्छ ।

‘नेपालमा पहिलो चरणको खोप अभियान सम्पन्न भइसक्दा गम्भीर खालका बिरामी खासै देखिएका छैनन्’  उहाँले भन्नुभयो ‘खोप लगाएका केहीलाई सामान्य खालको लक्षण  मात्रै देखिएकाले डराउनुपर्ने स्थिति छैन।’

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया