पूर्वी नाकाबाट गाेरु तस्करी, ६७ गोरुसहित तीन ट्रक प्रहरी नियन्त्रणमा

 माघ २७, २०७७ मंगलबार २०:१४:३३ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ – मोरङको पूर्वी नाकाबाट गोरुको तस्करी हुने गरेको फेला परेको छ । प्रहरीको टोलीले केराबारीबाट गोरु तस्करी भइरहेको सूचनाको आधारमा ६७ गोरुसहित तस्करीमा संलग्न व्यक्तिलाई फक्राउ गरेको छ । मोरङको केराबारी गाउँपालिका ५ सतिसालेमा गोरु लोड गरेको अवस्थामा तीन ट्रकसहित गोरु नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक (डीएसपी) लोकदर्शन थापाका अनुसार ना ६ ख ६१३२, ना ६ ख ९७३४ र ना ५ ख ७७५७ नम्बरको ट्रकमा ६७ गोरु फेला पारेको हो । अनुसन्धानका क्रममा ती गाेरु सिन्धुपाल्चोकका ठेकेदार विश्व बस्नेतकाे भएकाे डीएसपी थापाले जानकारी दिनुभयाे । गोरु तस्करीमा संलग्न बस्नेत गोरु कारोबारी भएको प्रहरीले जनाएको छ ।  

बस्नेतले गोरु व्यवसाय गर्नका लागि केराबारी गाउँपालिका ८ का डोरबहादुर विकसहित नाै जनाको व्यवसाय गर्दाको रकमसमेत नदिएको प्रहरी अनुसन्धानबाट खुलेको जनाइएकाे छ । प्रहरीले ट्रक, चालक र गोरु नियन्त्रणमा लिइ आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइएको डीएसपी थापाले बताउनुभयाे । 

तस्करहरूले गोरुको ओसारपसारका लागि छोटी भन्सारकाे प्रयोग गर्ने गरेका छन् । यसअघि रङ्गेली तथा भाथिगछलगायतका नाका प्रयोग गरेर गोरु भारत तस्करी हुने गरेको स्थानीयले बताउँदै आएका थिए । रातिको समयमा नेपालबाट भारततर्फ ठूलो सङ्ख्यामा गाई तथा गोरुको तस्करी हुने गरेकाे छ । 

तस्करहरूले नेपालबाट झापा र मोरङको नाका प्रयोग गरेर भारत हुँदै बङ्गलादेशसम्म गोरुको तस्करी गर्ने गरेको यसअघि नै तथ्य खुलेको थियो । यस पटक पक्राउ परेका गोरु पनि पश्चिमका जिल्लाबाट ल्याएर झापा हुँदै तस्करी गर्न ल्याइएको हुन सक्ने प्रहरीले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख १४, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया