भिजिट भिसामा यूएई आएर काम नगर्न दूतावासको आग्रह

 माघ २८, २०७७ बुधबार १०:५०:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – के तपाईं भिजिट भिसामा यूएई जानुभएको छ र त्यहाँ काम गर्ने सोच बनाउनुभएको छ ?  यदि त्यस्तो हो भने तपाईं समस्यामा पर्न सक्नुहुन्छ ।

भिजिट भिसामा आएर रोजगारी गर्नु कानुन विपरीत भएको भन्दै यूएईको आबुधाबीमा रहेको नेपाली दूतावासले त्यसो नगर्न आग्रह गरेको छ । वैदेशिक रोजगार ऐन २०६४ र वैदेशिक नियमावली २०६४ ले श्रम स्वीकृति लिएर मात्रै वैदेशिक रोजगारीमा जाने व्यवस्था गरेको छ । श्रम स्वीकृति नलिइ भिजिट भिसामा वा अन्य भिसामा गएर काम गर्ने कानुनी व्यवस्था छैन ।

यसरी भिजिट भिसामा आउने क्रममा विभिन्न किसिमका ठगीमा पर्ने, भिजिट भिसामा बोलाउनेले नै अलपत्र पारिदिने र मानव तस्करको सञ्जालसम्म पुग्ने जोखिम हुनसक्ने दूतावासले जनाएको छ ।

यस्तै भिजिट भिसामा गएर काम गर्ने क्रममा अलपत्र परेको वा समस्यामा परेको खण्डमा म्यानपावर कम्पनी वा सरकारी निकाय पनि जिम्मेवार नहुने भएकाले काम गर्ने उद्देश्य हो भने श्रम स्वीकृति लिएर मात्र आउन दूतावासको आग्रह छ ।

पछिल्लो समय एजेण्टले विभिन्न प्रलोभन देखाएर श्रमिकबाट ठूलो रकम असुलेर भिजिट भिसामा पठाउने र त्यहाँ पुर्याएपछि अलपत्र पार्ने गरेका घटना बढीरहेका छन् ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया