तुम्लिङटार विमानस्थलकाे धावनमार्ग मर्मत चल्दै, साना जहाजले मात्रै उडान भर्दै

 माघ २८, २०७७ बुधबार १४:१०:५८ | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा – सङ्खुवासभाको एकमात्र विमानस्थल तुम्लिङ्गटार विमानस्थलको धावनमार्ग मर्मतका कारण साना जहाजले मात्रै उडान भरिरहेका छन् । 

गएको शनिबारदेखि आउँदो चैत २ गतेसम्म विमानस्थलको धावनमार्ग मर्मतका लागि ठूला जहाज बन्द गरिएको हो । विमानस्थलको धावनमार्गको कालोपत्रे खाल्डाखुल्डी पर्ने र उप्किएपछि जहाज उडानमा खतरा पर्ने देखेपछि मर्मत गर्ने काम सुरु भएको छ । एक वर्षअघि २०७६ चैत ३ देखि धावनमार्ग मर्मत गर्न एपेक्स कन्ट्रक्शन कम्पनीलाई ठेक्का दिए पनि विश्वभर फैलिएको कोरोना भाइरसका कारण काम हुन सकेको थिएन ।

गएको कात्तिकदेखि धावनमार्ग मर्मतको काम सुरु गरिएको एपेक्स कन्ट्रक्शन कम्पनीका प्रतिनिधि लालध्वज लामाले जानकारी दिनुभयो । उहाँले तुम्लिङटार विमानस्थलको धावनमार्गको काम दुई महिनाभित्र सक्ने गरी दिन–रात ६० जनाभन्दा बढी कामदार खटाइएको उहाँले बताउनुभयो । 

चैत ३ गतेसम्म रनवे मर्मतको काम सक्ने गरी सम्झौता भए पनि फागुन १७ गतेभित्र नै काम सक्ने गरी लागिपरेको उहाँको भनाइ छ । 

तुम्लिङटार विमानस्थलको धावनमार्गको लम्बाइ एक हजार चार सय २० मिटर लामो रहेको छ । १० वर्षअघि विमानस्थलको धावनमार्ग कालोपत्रे पनि यही कम्पनीले गरेको थियो । त्यसमा अहिले सात सय मिटर आधा भाग मर्मतको काम भइरहेको छ । त्यसैले साना जहाजले सात सय मिटरको रनवेमा उडान भर्दै आएका हुन् । अहिले दक्षिणतर्फको सात सय मिटरमा काम भइरहेको र त्यो क्षेत्र सम्पन्न भएपछि उत्तरतर्फको रनवेको काम सुरु हुने समेत लामाको भनाइ छ ।

पूर्णरूपमा जहाज बन्द हुँदा बिरामी र वृद्धवृद्धालाई असहज परिस्थिति सिर्जना हुने भएकाले साना जहाजले दैनिक उडान भर्न थालेको यती एअरलाइन्सका तुम्लिङटार इञ्चार्ज प्रताप गुरुङले जानकारी दिनुभयो । 
अहिले तुम्लिङटार विमानस्थलमा यती एयरलाइन्स (१६ सिट भएका), तारा जहाजले उडान भर्दै आएका छन् । त्यस्तै बुद्ध एअर, समिट एअरले दैनिक तुम्लिङटार—काठमाण्डौ सिधा उडान भर्दै आएका छन् भने हप्तामा दुई दिन सोमबार र शुक्रबार तुम्लिङटार—विराटनगरसमेत उडान भर्दै आएका छन् । यसअघि यती र बुद्ध एअरलाइन्सका २७ सिटे जहाजले दैनिक तुम्लिङटार–काठमाण्डौ उडान भर्दै आएका थिए । 

सङ्खुवासभामा सडक यातायातको सुविधा त्यति प्रभावकारी छैन । खाँदबारीदेखि धरान–विराटनगर जाँदा आधाभन्दा बढी भाग कच्ची सडकको यात्रा गर्नुपर्छ । सङ्खुवासभामा ठूला अस्पताल र शैक्षिक सङ्घ–संस्था नहुदाँ धरान, विराटनगर र काठमाण्डौ नै धाउनुपर्ने बाध्यता छ । त्यस्तै तुम्लिङटार विमानस्थल सङ्खुवासभाका साथै छिमेकी जिल्ला भोजपुरका षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकालगायतका नागरिकलाई तुम्लिङटारबाट नै विराटनगर र काठमाण्डौ जान नजिक पर्छ ।  

तस्बिर : नवीन गुरुङ, उज्यालाे

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया