राजनीतिक नेतृत्वमा गाली गलौजको संस्कृति : बुझ्दै नबुझी थपडी बजाउनेहरू पनि दोषी

 माघ २९, २०७७ बिहिबार १२:२६:४२ | सुरेश ढकाल
unn.prixa.net

गएको पुष ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेर नयाँ चुनावको मिति घोषणा गर्नुभयो । त्यसलगत्तै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा दुई समूहमा विभाजित भए । प्रतिनिधिसभा विघटन भएको केही दिनमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली आफ्नो गुटको भेलालाई सम्बोधन गर्न सुदूरपश्चिम जानुभयो ।

भेलामा सम्बोधन गर्ने क्रममा उहाँले पार्टी छाडेका ‘भगौडा’ भन्दै प्रचण्ड-नेपाल समूहलाई गाली गर्नुभयो । प्रचण्ड-नेपाल समूहका नेताहरु पनि ओलीकै शैलीमा गाली गलौजमा उत्रनुभयो । केही दिनअघि प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति र प्रधानमन्त्रीलक्षित गाली गलौजकाे भाषणको चर्चा अहिले पनि सेलाएको छैन ।

यस्तै प्रचण्ड-नेपाल समूहलाई ‘कुहिएको फर्सी’ को संज्ञा दिँदै प्रधानमन्त्री ओली गालीको प्रतिस्पर्धामा उत्रनुभयो । त्यसको केही दिनमा फेरि उहाँले प्रचण्ड-नेपाल समूहका केही नेतालाई ‘केटाकेटी’ भनेर सम्बोधन गर्नुभयो । प्रचण्ड-नेपाल समूहका नेताहरु पनि के कम ? उनीहरुले पनि प्रधानमन्त्री स्वयंलाई ‘केटाकेटी’ बनाइदिए । 

पछिल्लो समय विशेषतः नेताहरुले भाषणका क्रममा प्रयोग गरिने शब्दहरु निक्कै तल्लो स्तरका छन् । त्यसमाथि पनि केही उखानटुक्काले लाजमर्दो नै बनाइदिएको छ । एकले अर्कोलाई घृणा गर्ने, अथवा एकलेअर्कोलाई फरक देखाउनको लागि, अर्कोभन्दा​​आफू अब्बल छु भन्नका लागि अनेक खालका गाली नेताहरुको मुखबाट आइरहेको छ ।

जब राजनीतिक विवाद र मुद्दाहरु राजनीतिक विषयवस्तुभन्दा पर जान्छन् अथवा त्यसलाई राजनीतिक विषयवस्तुबाट पर धकेल्न खोजिन्छ, त्यसपछि आफ्नो मूल मुद्दाबाट पन्छिनका लागि नै यो खालका गाली गलौजहरु गर्छन् र गरिन्छ जस्तो लाग्छ । अनि हाम्रो एउटा पुरानो कथा छ नि ! तँ भन्दा म तकडा भन्ने, त्यसको लागि अरुलाई होचोनिचो देखाउनु पर्ने जुन एउटा परम्परा छ, अहिले त्यसैको निरन्तरता हो जस्तो लाग्छ ।

पहिले राजनीतिक नेताहरुले भाषण गर्दा एकले अर्कोलाई आक्षेप लाउँदा निकै सावधानी अपनाएको पाउँथ्यौँ । पहिले पहिले ‘संशोधनवादी विधान भएकाहरु’, ‘भारतीय विस्तारवादको दलाल’, ‘दरबारको पिछलग्गू’ लगायत गालीहरु प्रयोगमा आउँथ्यो । राजनीतिक सन्दर्भ र मुद्दाहरुमा आफू सबैभन्दा शक्तिशाली भएको प्रमाणित गर्न गहन विचार गरेर मात्रै शब्दहरु प्रयोग गरिन्थ्यो । तर अहिले एकदम हल्का टिप्पणीसहितको गाली गलौजमा नेताहरु उत्रिएका देखिन्छन् । उनीहरुले भनेका ती शब्दहरु विल्कुलै गैर-राजनीतिक छन् ।

धेरै मान्छेले नेताबाट एक खालको अपेक्षा गरेका हुन्छन् । भविष्यमा राजनीति गर्छु भन्नेहरुलाई भोलि म पनि त्यो ठाउँमा पुग्छ भन्ने लागेको हुन्छ । तर, यसरी नैतिक मानकसमेत भेटिन नसकिनेगरी राजनीतिक कार्यक्रममा गालीहरु आउनु भनेको मेरो विचारमा एकदमै बेठीक छ । यसले निकै नरमाइलो लागेको छ ।

नेताहरु गालीमा किन उत्रन्छन् ?

नेताहरु अलि तल्लो स्तरमा पुगेर गाली गलौजमा उत्रनुका पछाडि उनीहरुको मनोवैज्ञानिक अवस्थाले पनि असर गर्छ । अरु देशहरुमा यसबारे विभिन्न चरणमा अध्ययनहरु भएका छन् ।

अमेरिकाकै कुरा गर्ने हाे भने पनि रिपब्लिकन र डेमोक्रेटले एक अर्कोलाई गाली गर्ने बारेमा त्यहाँका मनोविज्ञहरु, भाषाविद्हरु, समाजशास्त्रीहरुले अध्ययन गरेका थिए । हाम्रोमा त्यो तहको समाजविज्ञान विकास नै नभएको पो हो कि जस्तो पनि लाग्छ । एकले अर्कोलाई सम्पूर्णरुपमा मन पराएका हुँदैनन् ।  तर धेरैजसो कुराहरुमा हामीसँगै बस्दा एक-अर्काप्रति सम्मान गछौँ ।

सकारात्मक पक्षहरुको आधारमा दुई पक्षसँगै बसेका हुन्छन् । एकअर्काको मनपेट खोल्छन् । त्यसबेला एकले अर्को समूहको कमजोरी पनि औंल्याइसकेको हुन्छ । जबसँगै बस्न नसक्ने अवस्था हुन्छ, तब एकले अर्कोको कमजोरी कहाँ छ, त्यहाँ आक्रमण गर्ने खालको कुराहरु हुन्छन् ।

आफूभन्दा अर्को व्यक्तिलाई निच देखाउन उसका नकारात्मक कुराहरुबाट निकालिन्छ । हाम्रोमा एक खालको राजनीति स्वार्थको गठजोड पनि एकदमै धेरै छ ।  त्यसले पनि एक-अर्काप्रतिको स्वार्थमा घाउमा थप नुनचुक छर्कने काम भएको जस्तो लाग्छ ।

मेरो विचारमा राजनीतिक मूल्य मान्यता, राजनीति गर्ने तरिका, राजनीतिक आचरणहरू पहिले अलि बढी थियो । तर अहिले चाहिँ विचारविहीन, संस्कारविहीन राजनीति भइरहेको छ ।  अहिलेको राजनीतिक संस्कार यही कारणले पनि ओरालो लागिरहेको पाइन्छ । हामीले गाली र तालीको सम्बन्धलाई केलाएर हेर्यौँ भने पनि अझै यसलाई बुझ्न सक्छौँ । 

दोष नेताको मात्रै कि अरु पनि ?

नेताहरु गाली गलौजमा उत्रनुमा उनीहरुलाई मात्रै पनि दोष दिन मिल्दैन । नेताहरुले गम्भीर खालका कुरा गरिरहँदा मान्छेहरुले चाख दिएर बुझ्ने प्रयास नै गर्दैनन् । तर, जब नेताहरु गाली र गलौजमा उत्रन्छन्, तब सबैजना गडगडाहट ताली दिन तम्तयार हुन्छन् । यसले नेताहरुलाई आफूले यस्तै बोल्नुपर्ने रहेछ भनेर उत्साहित बनाइरहेको हुन्छ ।

गज्जब भन्यो भन्ने हिसाबले ‘अडियन्स’ बाट प्रशंसा पाएको बुझेर नेताहरु झन यसै गर्नुपर्ने रहेछ भन्नेतिर लाग्छन् । गडगडाहट ताली दिनेहरुमा विज्ञ, प्राध्यापकदेखि विश्लेषकहरुसमेत पछि पर्दैनन् । यसले नेताहरुमा थप हौसला मिलिरहेको पाइन्छ । अरुले भन्दा धेरै गाली गर्ने र उखान टुक्काहरु जोड्ने होड चाहिँ अहिले राजनीतिक वृत्तमा संस्कारजस्तै बनिरहेको छ ।

नेताले बोल्ने भाषाको प्रभाव

राजनीतिक दलका नेताहरुले जस्तो भाषा प्रयोग गरिरहेका छन्, त्यसलाई उनीहरुको कार्यकर्ता र समर्थकले मात्रै नियालिरहेका छैनन् । सामाजिक सञ्जालको प्रयोगले कार्यक्रममा सहभागी नभएकाहरुले पनि, कोठामै बसिरहेकाहरुले पनि अनि बालबालिकादेखि सबै उमेर समूहकाले नेताहरुको भाषणलाई मनोरञ्जनको रुपमा लिइरहेका छन् । तर यसलाई उनीहरुले तत्कालका लागि मनोरञ्जनको रुपमा मात्रै लिए पनि पछिसम्म असर गर्ने बाल मनोवैज्ञानिकहरु बताउँछन् ।

नेताहरु भनेका राम्रो अर्थात नराम्रो दुवै अर्थमा रोलमोडल हुन् । नेताहरुका हाउभाउ, बोलीचाली र उनीहरुले गर्ने क्रियाकलाप पछि बन्ने नेता अर्थात अहिलेका कार्यकर्ताले त्यही सिकिरहेका हुन्छन् । जब मुहान नै राम्रो छैन भने तल बगेर आउने कुराहरु त गतिला हुँदैनन् ।  एउटा उखान छ नि, ‘पानी र बानी भनेको माथिबाट तल बहने हो, माथिबाट तल सर्ने हो ।’ त्यसकारण माथिकाहरुको खराब आचरण पनि त्यसैअनुसार सर्दै जान्छ । त्यसकारण मूलतः दोष माथिकै हो ।

एउटा अभिभावकको भूमिका निर्वाह गर्न नसक्नु । तर अब तल पनि भनेको कार्यकर्ताको तहमा पनि आफ्नै नेताले गरेको भाषण पनि आफ्ना छोराछोरीले नसुन्दिए हुन्थ्यो भनेजस्तो अवस्था भयो भने त राम्रो भएन नि । आफ्नो नैतिक मूल्य मान्यतामा पनि विचार त गर्नुपर्ने हो जस्तो लाग्छ । 

नेतृत्वको बोली र व्यवहार कसरी सुधार्ने ?

विशेषतः राजनीतिक दलका कार्यकर्ता नेतृत्वले जे-जे भन्यो त्यसैमा ताली बजाउने अर्थात् समर्थन गर्ने परिपाटीको विकास भइरहेको छ । नेताका गलत आचरण र व्यवहारमाथि प्रश्न उठाउने हो भने मात्रै पनि राजनीतिक शुद्धीकरण हुन सक्छ । नत्र नागरिक चुनावमा भोट बैंक मात्र बनेर आफ्नो फाइदाका लागि मात्रै सोच्ने हो भने राजनीति झन् बिग्रँदै जान्छ । पार्टी, राजनीतिक कार्यकर्ता र राजनीतिक समूह नै समाजको ठूलो हिस्सा हो ।

यो समूहमा पनि केही हुने खाने तप्का नै हुन्छ । किनभने दैनिक ज्याला मजदूरी गरेर गुजारा चलाउने वर्ग दैनिक नारा र जुलुसमा जान भ्याउँदैनन् । त्यसकारण जुन वर्ग राजनीतिक गतिविधिमा संलग्न हुन सक्छन्, उनीहरुको समूह पनि सच्चिन जरुरी छ ।

नेताहरु यो अवस्थामा आइपुग्नुमा एउटा मात्र पाटो छैन । समग्र पाटोलाई नै सुधार्नु पर्ने हुन्छ । असल राजनीतिक गतिविधिले खराब राजनीति गतिविधिलाई विस्थापित गर्न सक्नुपर्छ ।

(समाजशास्त्री ढकालसँगको कुराकानीमा आधारित)

अन्तिम अपडेट: बैशाख ३, २०८१

सुरेश ढकाल

ढकाल मानवशास्त्री हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया