नेतृ झाँक्रीलाई हुन सक्छ सात वर्षसम्म कैद र ७० हजार जरिबाना

 माघ २९, २०७७ बिहिबार १३:५९:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । प्रतिनिधि सभा विघटनको प्रसङ्गमा केही दिनअघि गोरखामा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अभिव्यक्ति दिनुभएकी झाँक्रीलाई महानगरीय प्रहरी अपराध महाशाखाले उहाँको निवास शङ्खमुलबाटै पक्राउ गरेको हो ।

महाशाखाले थमाएको पक्राउ पुर्जीमा झाँक्रीलाई राज्यविरुद्धको कसुरअन्तर्गत दफा ५८ को कसुर अन्तर्गत अनुसन्धान गर्न पक्राउ गरिएको उल्लेख छ । यस कसुरअन्तर्गतको मुद्दामा सात वर्षसम्म कैद ७० हजार रुपैयाँ जरिबाना वा दुवै सजाय हुन सक्ने उल्लेख छ ।

मुलुकी अपराध संहिता २०७४ को दफा ५८ अनुसार यदि राज्यविरुद्धका कसुर प्रमाणित भएमा झाँक्रीलाई सात वर्षसम्म कैद या ७० हजार रुपैयाँ जरिबाना या दुवै सजाय हुन सक्नेछ । 

झाँक्रीले गोरखामा राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीति गर्ने भए शितल निवास छाडेर नागरिकको माझमा आउन भन्दै विभिन्न आरोप लगाउनुभएको थियो । झाँक्रीको अभिव्यक्तिपछि उहाँलाई पक्राउ गर्न प्रधानमन्त्री केपी ओली पक्षका नेता कार्यकर्ताले प्रहरीलाई दबाब दिँदै आएका थिए । 

राष्ट्रपति र प्रधानमन्त्रीको आलोचना गरेकै भरमा राज्य विरुद्धको आरोप लगाएर पक्राउ गर्नु गलत भएको भन्दै विभिन्न दलका नेता र कानुनविद्ले सरकारको विरोध गरेका छन् ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया