अदालतमा मुद्दा छ, जुलुसमा नारा लगाएर यही गर् भन्न मिल्दैन : सभापति देउवा

 माघ २९, २०७७ बिहिबार १६:२८:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आदिवासी जनजातिहरूलाई आफ्नो पक्षमा ल्याउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । 

नेपाली कांग्रेस आदिवासी जनजाति केन्द्रीय विभाग, नेपाल आदिवासी जनजाति सङ्घले बिहीवार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘नेपाली कांग्रेस र आदिवासी जनजातिको सवाल विषयक प्रशिक्षण कार्यक्रम’ मा बोल्दै सभापति देउवाले आदिवासी, जनजाति तथा दलितहरूलाई आफ्नो पार्टीको पक्षमा ल्याउनुपर्ने आवश्यकता रहेको बताउनुभएको हो । 

उहाँले नेपाली कांग्रेस पार्टीले आदिवासी, जनजाति, महिला, दलितलगायतका सबैलाई आरक्षणको व्यवस्था गरेकाले कांग्रेस मात्रै समावेशी पार्टी भएको पनि बताउनुभयो । कांग्रेस समावेशी पार्टी भए पनि उल्टो प्रचार भएकाले उल्टो प्रचारलाई चिर्दै आफ्नो पक्षमा ल्याउनुपर्ने आवश्यकता रहेको नेता देउवाकाे भनाइ छ । उहाँले भोलि सरकार बनाउनुपर्ने अवस्थामा आदिवासी जनजातिको पनि साथ चाहिने उल्लेख गर्दै नागरिकलाई आफ्नो पक्षमा ल्याउने गरी काम गर्न नेताहरूलाई निर्देशनसमेत दिनुभयो ।

सभापति देउवाले प्रतिनिधि सभा विघटनको मुद्दा अदालतमा विचाराधीन भएकाले यसबारेमा नेपाली कांग्रेसले बोल्न नमिल्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अदालतमा मुद्दा छ, नारा लगाएर यही गर् भन्न मिल्दैन, हामी त्यस्तो गर्दैनाैँ, जुलुसले हुने भए किन चाहियो अदालत ?’ चुनावबाट सरकार बनाउने राजनीतिक व्यवस्थामा पार्टीले सधैँ चुनावका लागि तयारी गरिरहनुपर्ने भन्दै उहाँले आउँदा दिनमा आउन सक्ने संसद् पुनर्स्थापना अथवा चुनाव दुवैको तयारीमा रहन पनि निर्देशन दिनुभयो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रतिनिधि सभा विघटन असंवैधानिक भए पनि चुनावलाई असंवैधानिक भन्न नमिल्ने बताउनुभयो । प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको उपचार प्रतिनिधि सभाको पुनर्प्राप्ति नै भएको भन्दै चुनाव वा पुनर्स्थापनाबाट नै संविधानलाई लिकमा ल्याउन सकिने उहाँले बताउनुभयो । प्रतिनिधि सभाको पुनर्स्थापना र चुनाव दुवै संवैधानिक बाटो भएको उहाँको भनाइ छ ।

नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले कम्युनिस्टहरूले चुनाव जितेसम्म नेपालमा समृद्धि नआउने बताउनुभयो । कम्युनिस्टले चुनाव जितेसम्म जातजाति तथा संस्कृतिको सशक्तीकरण पनि नहुने उहाँको भनाइ छ ।  

सहमहामन्त्री महतले नेपाली कांग्रेसले पार्टीलाई समावेशी बनाएको कुराको प्रचारलाई पनि बलियाे बनाउनुपर्ने बताउनुभयो । नेपाली कांग्रेसले गरेको काम जनतासम्म पुर्‍याउन नसकेको उहाँको भनाइ छ ।   

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया