सहजपुर–बोगटान–दिपायल सडकमा पर्ने रुख कटानका लागि अनुमति

 माघ २९, २०७७ बिहिबार २०:२६:५४ | विमल बिष्ट
unn.prixa.net

डाेटी – मन्त्रिपरिषद्को बैठकले सहजपुर–बोगटान–दिपायल सडकमा पर्ने रुख कटानका लागि अनुमति दिने निर्णय गरेको छ । कैलालीको सहजपुरदेखि डोटीको बागछेडासम्म निर्माण तथा कालोपत्र भइरहेको सडक खण्डमा काम भइरहे पनि कम्तीमा ३३ सय रुख काट्ने अनुमति नपाउँदा काममा अवरोध सिर्जना भएको थियो ।

सङ्घीय वन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले सडक निर्माणमा अवरोध भएका रुख काट्न अनुमति दिएपछि अब कामले तीव्रता पाउने भएको छ ।

पीआरएल–कुमार जेभीसँग दुई अर्ब २५ करोड रुपैयाँमा ५० किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का सम्झौता भएको हो । यस सडकको प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ फागुन महिनामा शिलान्यास गर्नुभएको थियो ।

सडक आयोजना कार्यालयले तयार पारेको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनसहित रुख काट्न मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि अब कामले गति लिने वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘तीन हजार तीन सय ५७ रुख काट्नुपर्ने कुरा आएपछि केही समस्या भएको हो, अहिले मन्त्रीपरिषद्ले रुख काट्नका लागि स्वीकृत दिएको छ, कामले तीव्रता पाउँछ ।’ यसैगरी मन्त्रिपरिषद्को बैठकले सहजजुर–बोगटान सडकको ईआईएसमेत स्वीकृत गरेको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया