हातमा साङ्लाे बाँधेर प्रतिनिधि सभा विघटनकाे विराेध

 माघ ३०, २०७७ शुक्रबार १६:५६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्रष्टाहरूले प्रतिनिधि सभा विघटनको विरोधमा शुक्रबार काठमाण्डौमा हातमा साङ्लो बाँधेर प्रदर्शन गरेका छन् । 

साहित्य सर्जक, स्रष्टा तथा मण्डला थियटरका कलाकारहरूले हातमा साङ्लो बाँधेर प्रर्दशन गरेका हुन् । सबैखाले प्रतिगमनका विरुद्ध, निरन्तर अग्रगमनको पक्षमा स्रष्टा आन्दोलन लेखिएको ब्यानरसहित स्रष्टाहरूले भृकुटीमण्डपदेखि वसन्तपुरसम्म र्‍याली निकालेका छन् ।

मण्डला थिएटरका कलाकारहरूले विधिको शासन कायम गर, मानव अधिकार रक्षा गर, प्रेस स्वतन्त्रता सुनिश्चित गर, हत्या–हिंसा बन्द गर, प्राज्ञिक स्वतन्त्रता कायम गर लेखिएको प्लेकार्ड टाँसेर हातमा साङ्लो बाँधेका थिए । उनीहरूले देशमा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको भन्दै सबै किसिमका प्रतिगमनविरुद्ध हातमा साङ्लो बाँधेर प्रर्दशनमा उत्रिएकाे बताएका छन् । 

वसन्तपुरमा पुगेर गरिएको सभामा कलाकार तथा स्रष्टाहरूले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको विरोधमा प्रतिकात्मक नाटक देखाउनुका साथै कविता र गीतबाट प्रतिनिधि सभा विघटनकाे विरोध गरेका थिए । कलाकारहरूले साङ्लोले हात बाँधेर अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुश लगाएको विरोधमा प्रतिकात्मक प्रर्दशन गरेकाे बताए । 

त्यसैगरी प्रविन शर्मा र प्रकाश गन्धर्वले गीत गाएर प्रतिगमनको विरोध गरेका थिए । 

‘हामी बस्ने घरलाई गोठ भनेर भत्कायौ, सरकार लाग्यो हाम्रो निम्ति न्याय मर्‍याे ।’

‘पड्किन्छ बारुद आगोको झिल्को नगर फुसुर् फसुर्...’ 

कार्यक्रमलाई सम्बोधन गर्दै कवि राजन मुकारुङले अभिव्यक्ति स्वतन्त्रको रक्षा गर्नु सबैको साझा मुद्दा भएकाले सबै स्रष्टा एक ठाउँमा उभिनुपर्ने बताउनुभयो । उहाँले निरङ्कुश सत्ता शासन र प्रधानमन्त्रीको अहङ्कारकाे चाँडै ठेगान लाग्ने विश्वास आफूले लिएको भन्दै सबैलाई एकबद्ध हुन आह्वान गर्नुभयो ।

उहाँले भन्नुभयो, सडक सङ्घर्षमा हामी अघि बढिरहेका छौँ । निरङ्कुश सत्ता शासन र प्रधानमन्त्रीको अहमकाे चाँडै ठेगान लाग्नेछ भन्ने मैले अनुभूति गरेको छु । अहिले मैले किन ओलीलाई गाली गरिरहेको छु त ? यो भाषा कसले सिकायो हामीलाई ? उनैले सिकाए । उनलाई तँ भनेर गाली गर्दा पनि ठिक हुने पोजिशन सिकाएको उनैले हो । संस्कृति त होइन नि त । यो सिकाएकै उनैले हो । गाली गर्न सिकाएको उनैले हो । 

यो साझा मुद्दा भएकाले पक्ष/विपक्ष र प्रतिगन हो/होइन भनेर नेतालाई नसोधी सडक सङ्घर्षमा एकजुट हुन उहाँले सबैलाई आग्रह गर्नुभयो । साझा फोरमका सम्बन्धमा स्रष्टाहरूले जिज्ञासा राख्ने गरेको भन्दै उहाँले भन्नुभयो, यो त साइँलाका जन्ती जानुहुन्छ भने मात्रै म बेहुली लिन जान्छु भने जस्तै हो ।

स्रष्टाहरूको प्रर्दशनमा पत्रकार एवं साहित्यकार नारायण वाग्ले, हरिगोविन्द लुईँटेल, दयाहाङ राई, आहुति, निनु चापागाईँ, विमला राईलगायतको उपस्थिति थियो । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया