बर्दिया : सुकुम्वासी बस्तीमा बनाइएका घर वन कार्यालयको टोलीले भत्काउन थाल्यो

 माघ ३०, २०७७ शुक्रबार २०:२५:१३ | भावुक योगी
unn.prixa.net

बर्दिया – ठाकुरबाबा नगरपालिका ३ नेउलापुर गाउँको सुकुम्वासीबस्ती चटकपुरमा राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरी रातारात नयाँ घर बनाएको भन्दै डिभिजन वन कार्यालय गुलरिया बर्दियाबाट आएको टोलीले भत्काउन थालेको छ ।

राष्ट्रिय वन क्षेत्रअन्तर्गत पर्ने चटकपुर सुकुम्वासीबस्तीमा धेरै वर्ष अघिदेखि ३३ घर परिवारको बसोबास रहेको थियो । नयाँ ५६ घर निर्माण भएको जानकारी आएपछि डिभिजन वन कार्यालय गुलरियाबाट आएको प्रहरीसहितको टोलीले वन क्षेत्रमा नयाँ निर्माण गरिएका घर भत्काउन थालेको हो । 

डिभिजन वन कार्यालय गुलरियाबाट आएको प्रहरीसहितको टोलीले वन क्षेत्रमा पर्ने चटकपुर बस्तीमा बनाइएका नयाँ घर शुक्रवार दिउँसो भत्काउन सुरु गरेको हो । वनको टोलीले नयाँ बनाइएका घर भत्काउन थालेपछि स्थानीय सुकुम्बासीको आग्रहमा तीन घण्टाको समय दिएर उनीहरुलाई आफै भत्काउन पठाएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत सन्तोष चौधरीले बताउनुभयो ।

ठाकुरबाबा नगरपालिकासहित बर्दियाका सबैजसो पालिकमा अव्यवस्थितरुपमा बसोबास गरिरहेका भूमिहिनहरुको लगत सङ्कलन गर्न सूचना जारी गरेपछि भूमिहिन सुकुम्बासीको फाराम भर्दा अव्यवस्थित बसोबास गरिरहेको भनी घरको फोटो आवश्यक परेका कारण उनीहरुले चटकपुर बस्तीमा रातारात घर बनाएका थिए ।

‘राजनीतिक दलका नेताहरुले पहिला घर बनाऊ भनेर नयाँ घर बनाउन लगाए, अहिले वनबाट आएको टोलीले भत्काउन थाल्यो, कसैले नभत्काऊ पनि भनेनन् । वनको टोलीले पनि अग्रिम जानकारी दिएन, एक्कासी आएर भत्काउन थाल्यो, त्यत्रो खर्च गरी नयाँ घर बनायौँ, दुई दिनमै भत्काउनुपर्यो’, सुकुम्वासीबस्तीका एक जनाले दुखेसो पोख्नुभयो । 

डिभिजन वन कार्यालयका सहायक वन अधिकृत, वन कर्मचारी, वन रक्षक सुरक्षाकर्मीसहित इलाका प्रहरी कार्यालय भुरिगाउँ, ढोढरीका प्रहरीको टोलीले दिनभर लगाएर चटकपुर फाँटामा नयाँ बनाइएका घर टहरा तत्काल भत्काउन लगाएको हो ।

यसअघि वनखेत फाँटामा वन अतिक्रमण गरी बसेकाहरुलाई नेउलापुरबासीले उठाएर वनखेत फाँटामा गाँउलेहरुले वृक्षारोपण गरेका थिए भने वनखेत फाँटामा बसेका स्थानीय नेउलापुर गाउँका मुक्त कमैया र सुकुम्बासीहरुका झण्डै ९० घर चटकपुर बस्तीमा बसोबास गरिरहेका थिए । 

झण्डै ३६ घरपरिवार मुक्त कमैयालाई नजिकैको सामुदायिक वन किनारको ऐलानी जग्गामा पुनस्र्थापनन गरिएको थियो । मुक्त कमैया र सुकुम्वासीभन्दै ११ वर्षअघि द्वन्द्वकालमा नेउलापुरको राष्ट्रिय वन अतिक्रमण गरी वनखेत फाँटामा घरटहरा बनाइ बसेकाहरुलाई गाँउलेहरुले सफलतापूर्वक उठाएपछि वृक्षारोपण गरिएको थियो । 

आफ्नो बाबु–बाजेको नाममा जग्गा भएर पनि अन्यत्र गाँउबाट आएर द्वन्द्वकालका बेला २०५८ सालमा वन क्षेत्र अतिक्रमण गरी झण्डै तीन सय घरटहरा बनाइ बसेकाहरुलाई गाँउलेहरुले उठाउन पटक–पटक घरटहरा भत्काएका थिए । वनखेत फाँट क्षेत्रमा एक हजार बढी सालका रुख रहेका छन्, त्यो क्षेत्रलाई डिभिजन वन कार्याययले नाप नक्सा गरी वनखेत सामुदायिक वन समूहका नाममा दर्ता गरेको थियो ।   

अन्तिम अपडेट: बैशाख १, २०८१

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया