डब्ल्यूएचओकाे टाेलीलाई चीनले 'काेराेनासम्बन्धी महत्त्वपूर्ण तथ्याङ्क' नदिएकाे आरोप

 फागुन २, २०७७ आइतबार १५:१:३९ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – काेभिड–१९ (कोरोना भाइरस) को उत्पत्तिबारे चीनमा अध्ययन गरिरहेको विश्व स्वास्थ्य सङ्गठनको टोली (डब्ल्यूएचओ) लाई चीनले महत्त्वपूर्ण तथ्याङ्क दिन अस्वीकार गरेको छ । कोरोनाको उद्गमस्थल मानिएको वुहानमा स्थलगत अध्ययन गरिरहेको डब्ल्यूएचओ टोलीलाई चीनले महत्त्वपूर्ण तथ्याङ्क दिन अस्वीकार गरेको बीबीसीले जनाएको छ ।

अनुसन्धान टोलीमा रहेका एक सदस्यका अनुसार अनुसन्धान टोलीले चीनसँग सन् २०१९ को डिसेम्बरमा वुहानमा पुष्टि भएका एक सय ७४ जना सङ्क्रमितको प्रारम्भिक पूर्ण तथ्याङ्क माग गरेको थियो । तर चीनले पूर्ण प्रारम्भिक तथ्याङ्कको साटाे संक्षिप्त विवरण मात्रै दिएको छ । चीनले आफू डब्ल्यूएचओसँग पारदर्शी रहेको दाबी गर्दै आएको भए पनि पछिल्लो आरोपबारेमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।

तथ्याङ्क नदिएको कुरा सार्वजनिक भएपछि अमेरिकाले महामारीको प्रारम्भिक चरणको तथ्याङ्क उपलब्ध नगराउनु गम्भीर चासोको विषय भन्दै तथ्याङ्क उपलब्ध गराउन चीनलाई सुझाव दिएको छ ।

अघिल्लो हप्ता डब्ल्यूएचओको टोलीले कोरोना भाइरस प्रयोगशालाबाट चुहावट भएर मानिसमा फैलिएको सम्भावना नरहेको निष्कर्ष सार्वजनिक गरेको थियो । सन् २०१९ को अन्त्यतिर चीनको वुहानमा पहिलो पटक पुष्टि भएको कोरोना भाइरसको सङ्क्रमण पछिल्लो एक वर्षदेखि विश्वभर महामारीका रूपमा फैलिएको छ । 

अहिलेसम्म विश्वभर १० कराेड ९१ लाखभन्दा धेरै जनामा काेराेना पुष्टि भएकाेमा आठ कराेड ११ लाखभन्दा धेरै जना निकाे भएकाे वर्ल्डाेमिटरले जनाएकाे छ । त्यस्तै सङ्क्रमितमध्ये २४ लाखभन्दा धेरैकाे ज्यान गएकाे छ । 

विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरसविरुद्ध खोप तयार भएर अहिले विश्वका धेरै देशमा खोप अभियान चलिरहेको छ । लामो लकडाउन तथा प्रतिबन्धहरू झेल्न बाध्य बनाएको कोरोना महामारीको प्रभाव अहिले सामान्य बन्दै गएको छ ।   

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया