संरक्षणकर्मीद्वारा बर्दिया राष्ट्रिय निकुञ्जभित्रको राजमार्गमा वन्यजन्तुमैत्री सडक बनाउन माग

 फागुन ४, २०७७ मंगलबार १०:५४:१९ | भावुक योगी
unn.prixa.net

बर्दिया - बर्दिया  वन्यजन्तु संरक्षणकर्मीहरुले बर्दिया राष्ट्रिय निकुञ्जभित्रको राजमार्गमा वन्यजन्तुमैत्री सडक बनाउन माग गरेका छन् ।

पाटेबाघ, जंगली हात्ती, गैँडा, चित्तललगायतका वन्यजन्तुहरुको ओहोरदोहोर भइरहने जङ्गलभित्रको सडकमा मानिस र वन्यजन्तु दुवैलाई समस्या भएको भन्दै संरक्षणकर्मीहरुले वन्यजन्तुमैत्री सडक निर्माणको माग गरेका हुन् । 

बर्दिया संवाद समूहले आयोजना गरेको मानव र वन्यजन्तुबीच द्धन्द्ध न्यूनीकरण विषयक कार्यक्रममा कर्णाली चिसापानीदेखि अम्रेनी पोस्ट र रम्मापुरदेखि सैनवार पोष्टसम्मको राजमार्ग क्षेत्रमा तत्काल वन्यजन्तुमैत्री संरचना बनाउनु पर्ने उनीहरुको भनाइ छ । संरक्षणकर्मीहरुले जंगली हात्ती, पाटेबाघलगायतका वन्यजन्तुको वासस्थानमा बाधा पुगेका कारण पनि उनीहरु आक्रामक बन्न थालेको भन्दै दुवै पक्षका लागि तत्काल संरचना सुधार गर्नुपर्ने बताए ।

मानव वन्यजन्तुबीच द्वन्द्व बढ्न नदिइ सह-अस्तित्व कायम राख्न निकुञ्जभित्र पर्ने राजमार्ग क्षेत्रमा र संरक्षित जैविक मार्ग क्षेत्रमा पर्ने हुलाकी सडकमा वन्यजन्तुमैत्री सडक बनाउनु पर्ने संरक्षणकर्मीको भनाइ छ ।

पाटेबाघलगायतका वन्यजन्तुले आक्रमण गर्ने क्रम बढ्न थालेपछि क्षति कम गर्न दिगो व्यवस्थापनका लागि सरकारले वैकल्पिक उपाय खोज्नुपर्ने वा तत्काल वन्यजन्तुमैत्री संरचना बनाउन जरुरी रहेको बर्दिया निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत रमेश थापाले बताउनुभयो ।

दिगो समाधानका उपायका लागि वन्यजन्तुमैत्री संरचना (अण्डरपास) वा (ओभरपास) निर्माणका लागि वन्यजन्तु संरक्षण विभागसँग छलफल भइरहेको बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताउनुभयो ।

राजमार्ग किनारको झाडी सफा गर्न आवश्यक

गएको पुस १७ गते छोरासँगै मोटरसाइकलमा यात्रा गरिरहेकी कैलालीकी एक महिलालाई बर्दिया निकुञ्जभित्र पर्ने राजमार्गको आम्बासा कर्णाली सडकखण्डमा पाटेबाघले मोटरसाइकलमै झम्टेर मारेपछि निकुञ्ज अन्तर्गत पर्ने राजमार्गमा यात्रा गर्न जोखिम बढेको छ । 

बर्दिया निकुञ्जभित्र पर्ने पूर्वपश्चिम राजमार्गमा गाडीले ठक्कर दिँदा यसअघि २ वटा पाटेबाघ मारिएका छन् । अन्य वन्यजन्तुसँग गाडी ठोक्किएर पनि सयौँ वन्यजन्तुहरु र केही मान्छेको ज्यान गएको छ भने कतिपय घाइते भएका छन् । 

बर्दिया निकुञ्जमा पाटेबाघको संख्या बढ्दै गएको छ । सन् २०१८ को बाघ गणनाअनुसार बर्दिया निकुञ्जमा ८७ वटा वयस्क पाटेबाघ रहेका छन् । अहिले बर्दिया निकुञ्जमा एक सयको हाराहारीमा पाटेबाघ रहेको हुन सक्ने निकुञ्जले अनुमान गरेको छ । संख्या बढेसँगै पाटेबाघका आक्रमणका घटना पनि बढिरहेका छन् । 

सडक विभागले बजार क्षेत्रमा पूर्वपश्चिम राजमार्गको दायाँ बायाँ ३१/३१ मिटर सडक खाली गराउँदै आएको छ । तर, निकुञ्जभित्र पर्ने राजमार्ग क्षेत्रमा दायाँ बायाँ ३१/३१ मिटर सडक खाली गर्ने काम सडक विभागले गरेको छैन। 

निकुञ्जभित्रको राजमार्ग किनार आसपास रुख, बिरुवा र घाँसले ढाकेको छ । वन्यजन्तु त्यही घाँसमा बसिरहेका हुन्छन् । गाडीको आवाज सुनेपछि वन्यजन्तु तर्सिने र गाडीमा आक्रमण गर्ने जोखिम हुन्छ । त्यसैले, वन्यजन्तुमैत्री संरचना नबनुन्जेलसम्म निकुञ्जभित्र पर्ने राजमार्ग किनारका रुख, विरुवा र घाँस तत्काल काट्न जरुरी रहेको पूर्व प्रमुख संरक्षण अधिकृत रमेश थापाको भनाइ छ ।

‘सडक विभागले निकुञ्जसँग सहकार्य गरेर निकुञ्जभित्र पर्ने राजमार्ग छेउछाउका रुख, विरुवा र झाडी काट्ने काम गरेमा तत्कालका लागि जोखिम कम हुने थियो’ बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले भन्नुभयो । 

जैविक मार्ग क्षेत्रमा पर्ने हुलाकी सडकमा वन्यजन्तुमैत्री संरचनाकाे माग

बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतर्निया वन्यजन्तु आरक्षणका जनावर ओहोरदोहोर गर्ने राजापुर-गुलरिया हुलाकी सडकखण्ड अन्तर्गत पर्ने कोठियाघाट पुलनजिक खाता जैविक मार्ग क्षेत्रमा पनि वन्यजन्तुमैत्री सडक बनाउन संरक्षणकर्मीहरुको माग छ । 

संवाद समूह बर्दियाले यसअघि स्थानीय संरक्षणकर्मीको मागअनुसार प्रत्येक ५० मिटरको दूरीमा १२ वटा स्पीड ब्रेकर निर्माण गरिएको थियो । लुम्बिनी प्रदेशको आर्थिक सहयोगमा वन्यजन्तुमैत्री संरचना निर्माणका लागि डीपीआर तयार भएको छ ।

 माथिबाट गाडी गुड्न मिल्ने तलतिरबाट वन्यजन्तु ओहोरदोहोर गर्न मिल्ने स्काइओभर ब्रिज संरचना नभएर तलतिरबाट गाडी गुड्न मिल्ने माथिबाट वन्यजन्तु ओहोरदोहोर गर्न मिल्ने ४५ मिटरको मात्रै संरचना निर्माण गर्ने डीपीआर तयार भएपछि मधुवन नगरपालिकाका जनप्रतिनिधि र स्थानीय संरक्षणकर्मीहरुले असन्तुष्टि जनाएका छन् ।

बर्दिया निकुञ्जको बीच भागबाट पूर्वपश्चिम राजमार्ग हुँदै दैनिक सयौँ सानाठूला गाडीहरु ओहोरदोहोर गरिरहेका हुन्छन् । अहिले जङ्गली हात्तीपछि पाटेबाघ  आक्रामक बन्न थालेका छन् र जनधनमा क्षति पुर्याइरहेका छन् । 

बर्दिया निकुञ्ज र मध्यवर्ती क्षेत्रका बासिन्दासँग मानव–वन्यजन्तु द्धन्द्ध बढ्न नदिएर मानव–वन्यजन्तुबीच सहअस्तित्व कायम राख्न निकुञ्जभित्र पर्ने राजमार्ग क्षेत्रमा र संरक्षित जैविक मार्ग क्षेत्रमा पर्ने हुलाकी सडकमा वन्यजन्तुमैत्री संरचनाहरुकाे खाँचो रहेको संरक्षणकर्मीको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया