सरकारले निर्वाचन आयोग र सर्वोच्च अदालतलाई दबाब दिँदैन : उपप्रधानमन्त्री पोखरेल

‘अहिले जसले जे भने पनि समय आएपछि सबै चुनावमा सहभागी हुन्छन्’

 फागुन १०, २०७७ सोमबार १३:४३:३२ | रासस
unn.prixa.net

फाइल फाेटाे

चितवन – उपप्रधानमन्त्री ईश्वर पोखरेलले चुनावसँग सम्बन्धित सबै पक्ष तयारीमा जुटेको बताउनुभएको छ । भरतपुर विमानस्थलमा सोमवार पत्रकारसँग कुरा गर्दै उहाँले निर्वाचन आयोग र सुरक्षा निकाय चुनावको तयारीमा लागेको तथा अर्थ मन्त्रालयले आवश्यक बजेट निकासा गरिसकेको जानकारी दिनुभयो । 

प्रतिनिधि सभा चुनाव निर्धारित समयमा नै हुने र यसमा आशङ्का गर्नुपर्ने कुनै कुरा नरहेको स्पष्ट गर्दै उहाँले भन्नुभयो, ‘चुनाव हुन्छ कि हुँदैन भनेर आशङ्का गर्नुपर्ने कामै छैन, बिल्कुल हुन्छ । निर्धारित समयमा नै हुन्छ ।’ कहीँ कतै कोही–कोही व्यक्ति, पक्षहरूले चुनाव विरोधी कुरा गरे पनि ती सबै हास्यास्पद रहेको टिप्पणी उहाँले गर्नुभयो ।

उहाँले थप्नुभयो, ‘लोकतन्त्रमा विश्वास गर्ने, नागरिकको ताजा जनादेशबाट अगाडि बढ्न चाहने हर कोही यसका विपक्षमा उभिनुपर्ने आवश्यकता छैन । राजनीतिक दलहरू चुनावमा जाने कुरा, नागरिकबाट अनुमोदित हुने कुरा त नमान्ने कुरै भएन ।’ उपप्रधानमन्त्री पोखरेलले अहिले जसले जे भने पनि समय आएपछि सबै चुनावमा सहभागी हुने विश्वास व्यक्त गर्नुभयो ।

अर्को एक प्रसङ्गमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय सदस्य पोखरेलले पार्टी एकताका समयमा भएको प्रबन्धका आधारमा आयोगले पार्टीको आधिकारिकता टुङ्गो लगाउने विश्वास व्यक्त गर्नुभयो । प्रतिनिधि सभा विघटनको विषय सर्वोच्च अदालतबाट टुङ्गो लाग्ने जनाउँदै उहाँले फैसलाको प्रतीक्षा गर्नुपर्ने भनाइ राख्नुभयो ।

सरकारले आयोग र सर्वोच्च अदालतलाई कुनै किसिमको दबाब नदिने प्रष्ट पार्दै उहाँले भन्नुभयो, ‘सरकारले कुनै दबाब दिँदैन । विधिसम्मत ढङ्गले काम अघि बढाउँछ ।’  

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया