मैले राजीनामा दिएकाे छैन : महान्यायाधिवक्ता खरेल

 फागुन ११, २०७७ मंगलबार १३:१३:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफूले राजीनामा नदिएको प्रष्ट पार्नुभएको छ ।

मंगलवार बिहानैदेखि राजीनामा दिएको हल्ला आएपछि महान्यायाधिवक्ता खरेलले आफूले राजीनामा नदिएको र दिनुपर्ने परिस्थिति पनि नरहेको बताउनुभएको हो । आफू राजीनामा दिने सोचमा समेत नरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘अहिले महान्यायाधिवक्ताले राजीनामा दिने परिस्थिति पनि होइन, राजीनामा दिएको पनि होइन, राजीनामा दिने सोच पनि छैन ।’ आफूले प्रेस स्वतन्त्रताको बारेमा सधै अगाडि रहेर आवाज उठाइ राखेको तर आफ्नो राजीनामाको बारेमा एक पटकसमेत नसोधिकन समाचार आउँदा दुःख लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘जिम्मेवार प्रेसले कुनै पनि विषयलाई महान्यायाधिवक्ताले राजीनामा गर्नुभएको छ भन्ने जस्तो गम्भीर विषयलाई अगाडि राख्दा  महान्यायाधिवक्तासँग नसोधिकन राखिने कुराप्रति मेरो गम्भीर चासो, सरोकार छ र यसप्रति म दुःख व्यक्त गर्छु ।’

महान्यायाधिवक्ताले राजीनामा गर्यो भन्ने विषय आउँदा मिडियाले आफूलाई एकपटक पनि नसोधिकनै समाचार सम्प्रेषण गरेको उहाँले बताउनुभयो । अहिलेको परिस्थितिलाई आफू अनुकूल बनाउन चाहानेहरुबाट यस्तो हल्ला आएको पनि महान्यायाधिवक्ता खरेलले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘अहिलेको परिस्थितिलाई आफू अनुकूल बनाउने पनि कसैको कोशिस हुनसक्छ । प्रतिकूलतालाई अनुकूलतामा बदल्ने कोशिस पनि हुनसक्छ । सरकारको लडाइलाई कमजोर बनाउन पनि हुनसक्छ ।'

आफूले अदालतमा गरेको बहसप्रति प्रधानमन्त्री सन्तुष्ट रहनुभएको उल्लेख गर्दै मिडियामा आएका विभिन्न हल्ला निराधार रहेको पनि स्पष्ट पार्नुभयो । प्रधानमन्त्रीले असन्तुष्टि जायर गर्नुभयो भन्ने कुरा कतै स्रोत नखुलेको भनेर मिडियामा आएको पाइएको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया