घरमै बसेर माटो परीक्षण गर्न सकिने

 फागुन १३, २०७७ बिहीबार ६:५६:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले माटोको डिजिटल नक्सा तयार गरेको छ ।

माटोमा रहेको विभिन्न तत्त्व वा गुणहरु देखाउनका लागि जी.पी.एम.का माध्यमबाट कम्प्युटर प्रविधिको प्रयोग गरी तयार पारिएको नक्सा नै माटोको डिजिटल नक्सा हो । यो नक्साको बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको हो । 

कृषि मन्त्रालयकाअनुसार देशभरको माटोको डिजिटल नक्सा तयार गर्ने नेपाल दक्षिण एशियाकै पहिलो देश हो । दक्षिण एशियाका अन्य देशहरुमा पनि यो प्रविधिको माटोको नक्सा तयार ती केही जिल्ला, प्रदेश वा क्षेत्रमा मात्र सीमित छन् । त्यसअनुसार देशैभरको माटोको नक्सा तयार गर्न नेपाल पहिलो बनेको हो । 

माटोको डिजिटल नक्सा सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले माटोको डिजिटल म्यापिङले नेपाली कृषिमा एउटा नयाँ युगको सुरुवात गरेको बताउनुभयो । ‘माटोमा कुन पोषक तत्त्व छ, कुन पोषक तत्त्व छैन वा बढी छ, रोग के छ र के गर्नुपर्छ भन्ने कुरा किसानले सजिलोसँग थाहा पाउन सक्छन्’, उहाँले भन्नुभयो । 

किसानले आफूसँग कम्प्युटर नभए मोबाइल एप्स र त्यो पनि नभए हेर्न जान्नेसँग सम्पर्क गरेर आफू उभिएको जमिनको माटोको गुणस्तर जाँच्न सक्ने पनि प्रधानमन्त्रीले बताउनुभयो । जनतालाई देशमै उत्पादित वस्तुको उपभोगतर्फ आकर्षित गरिनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड थियो । 

देशमा ६५ प्रतिशत  जनता कृषिमा आधारित भए पनि राष्ट्रिय आयमा २७ प्रतिशत मात्र योगदान रहेको भन्दै उहाँले प्रतिशतको तुलना अलि नमिलेको बताउनुभयो । यसलाई सन्तुलनमा ल्याउन उत्पादकत्वमा व्यापक वृद्धिमा जानुपर्ने पनि प्रधानमन्त्रीले बताउनुभयो । 

कृषि तथा पशुपक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्नेतर्फ माटोको डिजिटल म्यापिङ महत्त्वपूर्ण फड्को भएको बताउनुभयो । माटोको विद्युतीय नक्साङ्कनमार्फत किसानले आफ्नो जग्गाको माटोमा कुन तत्त्व पुग्दैन, त्यसलाई कसरी पूर्ति गर्न सकिन्छ, कुन बालीको उत्पादन राम्रो हुन्छ, कति मल प्रयोग गर्ने जस्ता जानकारी सहजै लिन सक्ने उहाँको भनाइ थियो। 

‘सार्क क्षेत्रमै हामीले पहिलो पटक माटोको डिजिटल नक्सा बनाउन सफल भएका छौ । हामीले नक्सा निर्माण गर्यौँ’, मन्त्री अर्यालले भन्नुभयो, ‘यसबाट माटोको अवस्था के छ ? के गर्दा उत्पादन बढाउन सकिन्छ ? गुणस्तरको अवस्था के छ भनेर पत्ता लगाएर त्यसअनुसारको कृषि कर्म अगाडि बढाउन सकिन्छ ।’ यो नक्सा कार्यान्वयनमा ल्याउँदा कृषि क्षेत्रमा ठूलो क्रान्ति गर्न सकिने उहाँको भनाइ थियो । 

नक्साङ्कन कार्यले किसानमात्र नभइ नीति निर्माता, अनुसन्धान कर्ता, कृषि प्राविधिक निजी क्षेत्रका सेवाप्रदायक सङ्घ संस्था, मल आयातकर्तालाई समेत माटोसम्बन्धी पूर्ण जानकारी दिने मन्त्रालयले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया