वैदेशिक रोजगारी : माघमा धनुषाबाट जाने बढी, झापाबाट महिला धेरै

 फागुन १३, २०७७ बिहिबार १६:३४:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गएको महिनामा धनुषाबाट सबैभन्दा बढी श्रमिक वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार माघमा धनुषाका ६ महिलासहित ११ सय ४७ जनाले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएका हुन् ।

यस्तै झापाबाट १६२ महिलासहित ८ सय ५० जना, महोत्तरीबाट ६ महिलासहित ८ सय ८ जना र मोरङबाट ९२ महिलासहित ७ सय ३४ जनाले श्रम स्वीकृति लिएका छन् । 

माघमा नेपालका ७४ जिल्लाबाट १७ हजार ८ सय ८७ जनाले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएका छन्। यीमध्ये १४ सय ५१ जना महिला रहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

यस्तै यही समयमा नेपालबाट वैदेशिक रोजगारीको लागि सबैभन्दा धेरैले यूएई रोजेका छन् । यूएईको लागि ६ सय ५९ महिलासहित पाँचहजार २ सय ८ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै १० महिलासहित ४ हजार ९ सय ७८ जनाले साउदीको लागि र १०२ महिलासहित ४ हजार ९ सय ६६ जनाले कतार जान श्रम स्वीकृति लिएको विभागले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया