हाइड्रोजन इन्धन परियोजनाको लागि आयल निगम र काठमाण्डौ विश्वविद्यालयबीच सम्झौता

 फागुन १५, २०७७ शनिबार १६:५२:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ग्रीन हाइड्रोजन परियोजनाको लागि नेपाल आयल निगम र काठमाण्डौ विश्वविद्यालय (केयू)बीच सम्झौता भएको छ । गएको पुसमा भएको समझदारी अनुसार हाइड्रोजन इन्धनको विकासको लागि निगम र काठमाण्डौ विश्वविद्यालयबीच पाँच करोड रुपैयाँको सम्झौता भएको हो ।

सम्झौतापत्रमा निगमको तर्फबाट निर्देशक दीपक बराल र केयूको स्कुल अफ इन्जिनियरिङका डीन डाक्टर डम्बरबहादुर नेपालीले हस्ताक्षर गर्नुभएको छ । नयाँ सम्झौतासँगै हाइड्रोजन इन्धनको अध्ययनलाई थप फराकिलो बनाउन सहयोग पुग्ने मेकानिकल इन्जिनियरिङ विभागका उपप्राध्यापक विराजसिंह थापाले बताउनुभयो ।

नेपालमा धेरै जलविद्युत आयोजना बनिरहेको र तिनै जलविद्युत आयोजनाबाट ग्रीन हाइड्रोजन इन्धन उत्पादन गर्ने  लक्ष्य रहेको थापाको भनाइ छ । विश्वका कयौँ देशले हाइड्रोजन इन्धनको प्रयोग गरिरहेका छन् । पेट्रोल, डिजल जस्ता नवीकरण गर्न नमिल्ने इन्धनले एकातिर वातावरण प्रदुषण गराइरहेको र बर्सेनि अर्बौ रुपैयाँ बाहिरिएको अवस्थामा हाइड्रोजन इन्धन  नेपालको भरपर्दो विकल्प हुन सक्ने उपप्राध्यापक विराजसिंह थापाको भनाइ छ ।

सरकारले आवश्यक नीति नियम, पूर्वाधार र जनशक्तिमा सहयोग गरेमा नेपालमा केहि वर्षभित्र हाइड्रोजन इन्धन उत्पादन गर्न सकिने उहाँले बताउनुभयो । केयूले ‘ग्रीन हाइड्रोजन ल्याब’ सञ्चालनमा ल्याइसकेको छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया