‘हरेक रात निद्रामा परदेशी देश पुगेर फर्किन्छन्’

 फागुन १६, २०७७ आइतबार १५:२:५२ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

भोजराज घोडासैनी, सुर्खेत/हाल कोरिया ।

मनोरञ्जनका लागि विदेशिनेसँग घरको दुःख टाल्न परदेशिनेसँग जस्तो बाध्यता हुँदैन । मनोरञ्जनका लागि विदेश जानेहरू छुट्टै ‘क्याटागोरी’मा पर्छन् । उनीहरुलाई हामीसँग तुलना गरियो भने उनीहरूको आत्मसम्मानमा चोट पुग्छ । केवल मान्छे–मान्छे एकै हो भन्नेबाहेक अरू कुनै तर्क पनि त्यो क्याटागोरीको समूहसँग मेल खाँदैन ।

उनीहरू रहरले समुद्रको किनारमा पुग्छन् । डीएसएलआर क्यामरा, त्यो नभए आईफोनले फोटो खिच्छन् । महँगो होटेलमा बस्छन् । ब्रेकफास्ट, लञ्च, डिनरमा स्वादिष्ट व्यञ्जनको आनन्द लिन्छन् । बाध्यताले विदेशिनेहरुले वर्षौँसम्म पुग्न नसकेका ठाउँमा उनीहरू एकैदिनमा पुग्छन् । घरको दुःख पर सार्न विदेशिनेहरुलाई देखेर उनीहरू हुकुमी शैलीको भाषा प्रयोग गर्छन् । 

रोजगारीका लागि परदेश जानेको कथा मनोरञ्जनका लागि जानेको भन्दा ठिक उल्टो छ । उनीहरू देश छोड्नै नपरे हुन्थ्यो भन्ने ठान्छन् । परिवारसँगै बस्ने सपना बुन्छन् । हुन त यसलाई पनि के सपना भन्ने । तर हरेक साँझ सुत्दा निद्रामा उनीहरू देश पुगेर फर्किन्छन् । साँझ बिहान खाना खाँदा ‘परिवारसँग भएको भए’ भन्ने कल्पना गर्दै खान्छन् । बिसन्चो हुँदाको त झन् के कुरा गर्नु । त्यति बेला यो मन अस्पताल जान मान्दैन, आमाको काखमा गएर लुटपुटिन खोज्छ । 

बाध्यताले परदेशिनेहरुको समुन्द्रसँग कुनै मोह छैन । जसोतसो पुगिहाले भने पनि कठोर पीडा दबाएर फिक्का हाँसो हाँस्दै फोटो खिच्छन् । फेसबुक लगायतका सामाजिक सञ्जालमा राख्छन् । फोटो हेर्नेले रमाइरहेको छ भन्ने सोच्छन् । त्यही अनुसार कमेन्ट गर्छन्, मोज छ, ओहो, बबाल, सुन्दर...यस्तै यस्तै ।

अनि आफ्नो फोटोमा आएका कमेन्ट दोहोर्‍याए पढिरहन मन लाग्छ । त्यति बेला नवराज पराजुलीको कविताको अंश डुल्दै दिमागमा आइपुग्छ ।

‘कुनै देशको महान् चित्रकारलाई 
विश्व नै रङ्ग्याउने रङ्ग चाहिए 
मेरो देशको लालिगुराससँग सापटी माग्नु
तर यो कुरा पछि गरुँला कि,
मैले खाने चामलको रङ किन्न म अरब आएको छु ।’ 

यो कुरा कसलाई भन्ने ? कवि हृदयले महसुस गर्ने कुरा हो । जुन, नवराज पराजुलीले महसुस गरे । स्वाभिमानमा ठेस लाग्दा पनि सहन कति आत्मबल चाहिन्छ भन्ने कुरा ‘मोज छ’ भनेर फोटोमा कमेन्ट गर्ने मित्रले के जानुन् ।

देशले सम्मान नगरेकाहरूको परदेशमा कहाँको सम्मान हुनु ? परदेशमा त भाषामा नै विभेद हुन्छ । तराईबाट सामान बेच्न पहाड आउने मधेसी दाजुभाइलाई जस्तो । एउटै देशभित्र त विभेद हुन्छ भने विदेशमा नहुने कुरै भएन । त्यसको भुक्तभोगी हामी बाध्यताले विदेश जानेहरु हौँ । 

यहाँ हामीलाई आश्चर्यजनक नजरले हेर्छन् । घुम्ने ठाउँ पुग्दा त्यहाँ कुनै सम्मान हुँदैन । कुनै विशेष सेवा सुविधा हुँदैन । हेयको दृष्टिले हेर्छन् । उनीहरूले केही नभने पनि आफैँलाई हेपिएको जस्तो महसुस हुन्छ । इतिहासमा वीर गोर्खालीका नामले परिचित नेपाली, यसरी हेपिँदा पनि सहेर बस्छन् भने त्यो बहादुरी हो कि कायरता ? तपाईंलाई लाग्न सक्छ । तर यो मजबुरी हो । 

मेरो गाउँमा असार र मंसिरको खेतीपाती सकेर रोजगारी खोज्दै छिमेकी देश भारतको कालापहाड भन्ने ठाउँमा मौसमी कामदारको रुपमा जाने चलन छ । यसरी जानेहरु अनुहार बिगारेर टिठलाग्दो गरी बाटो लागेको देख्दा थुप्रै पटक मैले मेरो भविष्यको कल्पना गरेको थिएँ । त्यही कल्पना गर्दागर्दै म आज कोरिया आइपुगेको छु । मेरो गाउँबाट काम गर्न भारतको कालापहाड जानेहरु बस चढेर जान्थे । म यहाँ जहाज चढेर आएँ । जाने तरिका फरक भयो तर जानुपर्ने बाध्यता उही हो । पीडा उस्तै हो ।

कहिलेकाहीँ साथीभाइ आफन्तसँग कुरा हुन्छ । होइन, कुरा कम गुनासो बढी हुन्छ भनौँ । 

‘हामीलाई सम्झिनस्, ठुलो मान्छे बनिस् । देशको त के याद आउँछ होला र, ..’ यस्तै यस्तै भन्छन् । ती मेरा प्रिय साथीभाइ तथा आफन्तलाई म कसरी सम्झाऊँ कि मैले देशलाई कसरी सम्झिन्छु भनेर ?

मसँग त्यति शब्द कहाँ छन् जसको प्रयोग गरेर उनीहरुलाई म आफ्नो देशभक्तिपन बुझाउन सकुँ । कोरोना कहरले विश्व आतङ्कित हुँदा सरकार भन्दा पहिले आफूले खाइनखाइ जम्मा गरेको पैसा नेपाल पठाएको कसले ? २०७२ सालमा भूकम्प जाँदा परदेशका गल्ली गल्लीमा भिख माग्दै जुटाएकाे राहत रकम नेपालमा पठाउने को ? बेलाबेला प्राकृतिक विपत्ति आइपर्दा राहत जुटाउँदै प्रत्येक वर्ष कसले पठाउने गरेको छ ? राष्ट्र प्रेम के हो, म बुझ्दिनँ । आफैंले नबुझेको कुरा अरुलाई कसरी बुझाउन सकुँला ? तर यति चाहिँ भन्छु :

नहुँदा पनि योजना पूरा, देशको माया लाग्छ ।
जानि राख यत्ति कुरा, देशको माया लाग्छ ।
परदेशीले बिर्सी गयो कहिल्यै नभन्नु मित्र
जहाँ चलाए पनि पाखुरा, देशको माया लाग्छ ।।
 

अन्तिम अपडेट: चैत १६, २०७७

तपाईको प्रतिक्रिया