म्याग्दी र बागलुङमा ‘एक विद्यालय, एक स्टाफ नर्स’ कार्यक्रम लागू

 फागुन १७, २०७७ सोमबार १४:५३:३५ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – सरकारले सामुदायिक विद्यालयलाई लक्षित गरेर ल्याएको ‘एक विद्यालय, एक स्टाफ नर्स’ कार्यक्रम म्याग्दी र बागलुङका विद्यालयमा पनि लागू गरिएको छ ।

सरकारले नेपालको ६० वटा विद्यालयमा ‘एक विद्यालय, एक स्टाफ नर्स’को कार्यक्रम लागू गरेकोमा गण्डकी प्रदेशमा म्याग्दी र बागलुङ जिल्ला छनोट भएका हुन् । त्यसमध्ये म्याग्दीको बेनी नगरपालिकाको पाँचवटा र बागलुङको बागलुङ नगरपालिकामा पनि पाँचवटा विद्यालयमा विद्यालय नर्स कार्यक्रम लागू गरी कार्यान्वयनमा ल्याएको दुवै नगरपालिकाले जनाएका छन् ।

विद्यालय छनोट मापदण्डको आधारमा विद्यालयहरु छनोट गरी स्टाफनर्सलाई नियुक्ति दिएर राखिएको बेनी नगरपालिकाको स्वास्थ्य शाखा संयोजक लिला गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार म्याग्दीमा बेनपाको प्रकाश मावि, बेनी सामुदायिक मावि, जामुनाखर्क मावि अर्थुङ्गे, गलेश्वर मावि तोरीपानी र अर्जुन मावि भकुण्डेमा स्टाफ नर्स कार्यक्रम लागू भएको छ । यसैगरी बागलुङ नगरपालिकाको गणेश मावि नारायणस्थान, रुद्रेपिपल, विद्यामन्दिर, बौडेचौर तथा तितौरे मावि छनोट गरी स्टाफ नर्सको व्यवस्था गरिएको छ । 

ती विद्यालयमा करार सेवामा पाँचौं तहका स्वास्थ्यका कर्मचारीहरुको व्यवस्थापन गरिएको छ । बालबालिकाहरुलाई विद्यालय तहबाटै स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्न तथा विद्यालयमा आधारित स्वास्थ्य तथा पोषण सेवाको पहुँचमा पुर्‍याउने कार्यक्रमको उद्देश्य रहेको छ । यसैगरी विद्यालयमा स्वस्थ, सफा र सिकाइमैत्री वातावरण तयार गर्न, किशोरकिशारीहरुको यौन तथा प्रजनन स्वास्थ्य एवं किशोरीहरुको महिनावारीसँग सम्बन्धित समस्याहरुको समाधान गर्ने कार्यक्रमले उद्देश्य लिएको छ । विद्यालयमा विद्यार्थीको स्वास्थ्य जाँचका साथै आइरन चक्की खुवाउने तथा सचेतनामूलक शिक्षा दिन थालिएको छ । कार्यक्रम लागू भएका विद्यालयमा नगरपालिकामार्फत आवश्यक औषधि, उपकरणसहित जनशक्तिको व्यवस्थापन गरिएको हो ।

पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण तथा भर्नादर घट्दै गइरहेको अवस्थामा स्टाफनर्स कार्यक्रम आएपछि शिक्षक, विद्यार्थी र अभिभावक खुसी भएका छन् । सरकारले सञ्चालन गरेको विद्यालय स्टाफनर्स तथा विद्यालयमा दिवा–खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्ने अनुमान गरिएको छ । विद्यालय स्टाफनर्स कार्यक्रमले धेरै फाइदा पुगेको हुँदा सामान्य एवं प्राथमिक उपचार गर्न सहयोग पुगेको प्रकाश मावि बेनीका प्रधानाध्यापक हरिकृष्ण सुवेदीले अनुभव सुनाउनुभयो ।

विद्यालयमा आउने स्वास्थ्य समस्या, सचेतना, स्वास्थ्य शिक्षा र वातावरणीय शिक्षाका लागि विद्यालयमा स्टाफ नर्स कार्यक्रममार्फत सेवा प्रदान गर्न थालिएको जनाइएको छ । विद्यालयमा अध्ययनरत किशोरीका लागि सेनेटरी प्याडको प्रयोगलगायत विषयमा समेत शिक्षा प्रदान गरिनेछ । छात्राको महिनावारी हुँदाको अवस्थामा गरिने स्वास्थ्य हेरचाहदेखि आकस्मिक दुर्घटनामा प्राथमिक उपचार स्टाफ नर्सले गर्नेछन् ।

उनीहरुले विद्यार्थीको तौल तथा उचाइका आधारमा वृद्धि तथा विकास भए नभएको स्वास्थ्य जाँच गरी अभिभावकलाई आवश्यक सल्लाह र सुझावसहित जानकारी दिनेछन् । विद्यालय स्टाफ नर्स कार्यक्रमबाट स्वास्थ्य सेवाको पहुँचदेखि टाढा रहेका विद्यार्थीहरु लाभान्वित हुने अपेक्षा गरिएको छ । 
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया