विप्लवसँग वार्ता गर्न सरकारद्वारा गृहमन्त्री थापाकाे नेतृत्वमा समिति गठन

 फागुन १८, २०७७ मंगलबार १३:१७:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले नेत्रविक्रम चन्द नेतृत्वकाे विप्लव समूहसँग वार्ता गर्न समिति गठन गरेकाे छ । 

सरकारले गठन गरेकाे वार्ता समितिमा गृहमन्त्री रामबहादुर थापा बादल संयाेजक रहनुभएकाे छ । त्यस्तै प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डाक्टर राजन भट्टराई रहनुभएकाे छ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकार सम्मेलन गरेर गृहमन्त्री थापाको नेतृत्वमा दुई सदस्यीय वार्ता समिति गठन गरिएको जानकारी दिनुभएको हो । पत्रकार सम्मेलनमा उहाँले विप्लव समूहमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेर वार्ता गर्नका लागि समिति गठन गरिएको जानकारी गराउनुभएको हो ।

सरकारले विप्लव समूहमाथि २०७५ सालको फागुन २८ गते प्रतिबन्ध लगाएको थियो । हिंसात्मक गतिविधिमा संलग्न भएको भन्दै सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएसँगै प्रहरीले विप्लव समूहका नेता, कार्यकर्तालाई जहाँ भेट्यो, त्यही पक्राउ गर्दै आएको थियो । अहिले पनि विप्लव समूहका धेरै नेता तथा कार्यकर्ता प्रहरी हिरासतमै रहेका छन् ।

केही दिनअघि विप्लव समूहका महासचिव नेत्र विक्रम चन्दले विज्ञप्ति निकालेर सरकारले सहज वातावरण बनाएमा आफूहरू वार्ता र संवादमा आउन तयार रहेको जानकारी गराउनुभएको थियो ।

यसअघि गएकाे आइतवार झापामा भएकाे एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहसँग छिट्टै वार्ता हुने बताउनुभएकाे थियाे ।  

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया